पर्यटक पर्खिरहेको सुन्दर तोरे दह

दशरथ घिमिरे

 

देउखुरी । वरिपरी ठूला पहाड र एउटै चट्टानले घेरिएको छ । जुन चट्टान भएर बगेको पानीले झर्नाको रुप लिन्छ । त्यहाँबाट खसेपछि झर्नाको पानी दहमा परिणत हुन्छ । जहाँ सधैं झरनाबाट बग्ने पानीको आवाज एकैनासको सुनिन्छ ।

राप्ती गाउँपालिका वडा नं. ९ तल्लो घोसखोलामा रहेको दह तोरे दहको नामले चिनिन्छ । भालुबाङ–प्युठान सडक खण्डदेखि पश्चिम, राप्ती गाउँपालिका वडा नं. १ शान्तिपुरबाट नौ किलोमिटरको ग्रामीण सडक भएर वडा नं. ९ मा रहेको दह पुग्न सकिन्छ । पहाडको चुचुरोमा पुगेपछि बढीमा आधा घण्टाको पैदल मार्ग भएर दहको फेदीमै पुग्न सकिन्छ । हिउँदमा सडक मार्ग भएर सजिलै यहाँ पुग्न सकिन्छ । राप्ती गाउँपालिका–९ र बंगलाचुली गाउँपालिका–७ को सिमाना भएर बग्ने खोलामा एउटा दह छ । जसको नाम तोरे राखियो ।

यो दहमा हरेक वर्ष माघे संक्रान्तिमा मेला लाग्ने गर्छ । बराह देवताको यहाँ पूजा गरिन्छ । स्थानीय समुदायको आस्थासँग जोडिएको दहलाई पर्यटन प्रबद्र्धनसँग जोड्न थालिएको छ ।

स्थानीय तहले दहलाई पर्यटकीय गन्तब्य बनाउने योजना बनाएको छ । हालसम्म प्रचारप्रसारको अभावमा ओझेलमा परेको दहको प्रबद्र्धन गर्न स्थानीय सरकाले ध्यान दिन थालेपछि चर्चा शुरु भएको छ । स्थानीयहरुको आस्थासँग जोडिएको दहको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्याउन सकिए राम्रो हुने वडाध्यक्ष रिमबहादुर सुनारी मगरले बताए । ‘माघेसंक्रान्तिमा यहाँ मेला लाग्छ । भेडा पुज्ने, परेवा उडाउने काम हुन्छ । अब पर्यटकहरुलाई पनि यहाँ ल्याउन सकियो भने ठाउँको प्रसारप्रसार र विकास सँगसँगै आउने थियो’– उनले भने– ‘वर्षातमा त आउन सकिदैन । बाटो बिग्रिन्छ । पर्यटन क्षेत्रको विकास गर्नेगरी यहाँसम्म राम्रो बाटो पनि आउँछ कि भन्ने आशा छ ।’

तोरे दह पानीसँग जोडिएको छ । गनाहा खोलामा बग्ने पानी यही दह भएर बग्ने गर्छ । ठूलो चट्टान भएर बग्ने पानीले सबैको मन लोभ्याउने गर्छ । ठूलो झर्ना भएर झर्ने पानीकै कारण पर्यटकहरु आकर्षित हुने गरेका छन् । ‘गाउँलेहरुलाई थाहा भएकै थियो । तर प्रसारप्रसार नहँुदा ओझेलमा प¥यो’स्थानीय ७० वर्षीय भीमबहादुर बराल मगरले भने– ‘अहिले नयाँ मान्छेहरु विस्तारै आउन थाल्नुभएको छ । पर्यटकसँगै विकास आउँछ कि भन्ने आशा छ ।’ गाउँमा खानेपानी र सिंचाई दुबैको समस्या छ । सडक पनि राम्रो छैन । वर्षातमा त गाडी चल्न मुस्किल पर्छ । तोरे दहका कारण गाउँमा विकास आउने विश्वासमा स्थानीय छन् ।

तोरे दहको भ्रमणमा पुग्नेहरु खुशी भएर फर्किने गरेका छन् । प्राकृतिक रुपमा बनेको झर्नामा रमाउन पाउँदा बेग्लै आनन्द आउने गरेको राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विश्वकर्माले बताए । ‘अत्यन्तै रमणीय ठाउँ छ । यहाँ सधैं आउने वातावरण बनाउन सडकमा ध्यान दिनुपर्छ’– उनले भने– ‘मान्छेहरु कृत्रिम पूर्वाधारमा रमाउने गरेका छन् । तर तोरे दह प्राकृतिक रुपमा बनेको छ । यहाँ आउँदा वेग्लै आनन्द र शान्ति महसुस हुन्छ ।’

राप्तीमा पर्यटन सर्किट

राप्ती गाउँपालिकाले पर्यटकीय सर्किट निर्माण गर्ने योजना बनाएको छ । आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रममा पर्यटकीय सर्किटको योजना अघि सार्ने योजना बनाइएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुलाई एक अर्कासँग जोडेर प्रबद्र्धन गरिने बताए । शुक्रबार तोरे दहमा आयोजित छलफल कार्यक्रममा प्राकृतिकरुपमा निर्माण भएका पर्यटकीय क्षेत्रको विकास गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरिने बताए ।

‘लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा छौं । यहाँ आउने पर्यटकहरुलाई घुम्नको लागि प्रशस्त ठाउँहरु तयार भएका छन्’– उनले भने– ‘प्राकृतिक संरचनाको संरक्षण गर्दै पर्यटनसँग जोड्ने योजना हो ।’ राप्तीले नौवटा वडाभित्र रहेका पर्यटकीय स्थलहरुलाई एउटा सर्किटभित्र अटाउने योजना बनाएको छ । हनुमानगढी मन्दिर, तोरे दह, देविकोट, करंगेकोट, भुल्के, खौराहबाबा, राप्ती पुल, स्वीजरल्याण्ड पार्क, हर्षेडाँडालगायतका पर्यटकीय क्षेत्रलाई एउटा सर्किटको रुपमा विकास गर्न थालिएको हो । राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले पर्यटकीय क्षेत्रको विकास गर्ने कार्यक्रमलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने बताए ।

राप्ती प्रेस मञ्चले तोरे दहको प्रचारप्रसार गर्ने उद्देश्यले दह क्षेत्रमा औपचारिक कार्यक्रम समेत गरेको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, वडा नं. १ का अध्यक्ष गेमबहादुर खड्का, वडा नं. ५ का अध्यक्ष देवप्रसाद चौधरी, वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर, पशु विकास शाखाका प्रमुख जीवराज पौडेल, शिक्षा शाखा प्रमुख विश्वास विश्वकर्मा, स्टोर शाखा प्रमुख बासुदेव खनाललगायत सञ्चारकर्मी, स्थानीयहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया