देउखुरी । लुम्बिनी प्रदेशभित्र स्थानीय सरकारले सञ्चालन गरेका अस्पतालहरुको न्यूनतम सेवा मापदण्डको नतिजाले सेवा प्रवाहको अवस्था अझै कमजोर देखिएको छ ।

चार वर्षअघि र हालको अवस्थालाई तुलना गर्दा केही परिवर्तनका संकेतहरु देखिए पनि अस्पतालहरुको सेवा प्रवाहको अवस्थामा अझै सुधार गर्नुपर्ने देखिएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा तयार पारेको न्यूनतम सेवा मापदण्डको प्रतिवेदनमा चारवटा अस्पतालमध्ये एउटा अस्पतालले मात्रै ५० प्रतिशत अंक पूरा गरेको छ । बाँकी अस्पतालहरुको न्यूनतम सेवा मापदण्डको नतिजाको ५० प्रतिशत अंक समेत पूरा गर्न नसकेको पाइएको छ । नवलपरासी पश्चिममा वर्दघाट नगरपालिकाले सञ्चालन गरेको चिसापानी अस्पतालले न्यूनतम सेवा मापदण्डको ५८ प्रतिशत अंक प्राप्त गरेको छ ।
यस्तै दाङको लमही नगरपालिकाले सञ्चालन गरेको लमही अस्पतालले ४७ र कपिलवस्तुमा वाणगंगा नगरपालिकाले सञ्चालन गरेको पिपरा अस्पतालले समान ४७ प्रतिशत अंक प्राप्त गरेका छन् । यसैगरी कपिलवस्तुकै शिवराज नगरपालिकाले सञ्चालन गरेको शिवराज अस्पतालले ४४ प्रतिशत अंक प्राप्त गरेको छ । प्रदेश सरकारले सञ्चालन गरेका अस्पतालहरुले न्यूनतम सेवा मापदण्ड अनुसार सेवा प्रवाहमा सुधार गरेको नतिजाले देखाएको छ । प्रदेश सरकारले सञ्चालन गरेका अस्पतालमध्ये चारवटा अस्पतालको सेवामा उल्लेख्य सुधार आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लुम्बिनी प्रदेशभित्र रहेका १२ वटा सेकेन्ड ए लेवलका अस्पतालमध्ये चार वटा अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उत्कृष्ट भएका छन् । कपिलवस्तु अस्पताल, बर्दिया अस्पताल, गुल्मी अस्पताल र भीम अस्पतालको न्यूनतम सेवा मापदण्ड उत्कृष्ट रहेको छ । कपिलवस्तु अस्पतालले ९६, बर्दिया अस्पतालले ९५, गुल्मी अस्पतालले ८९, भीम अस्पतालले ८८ प्रतिशत अंक प्राप्त गरेका छन् । पाल्पा अस्पताल र रुकुमपूर्व अस्पतालको न्यूनतम सेवा मापदण्ड उकालो लाग्न सकेको छैन । पाल्पा ५८ र रुकुमपूर्व अस्पतालले ४४ प्रतिशत अंक प्राप्त गरेका छन् । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालले ८४, नवलपरासीको पृथ्वीचन्द्र अस्पतालले ८२, अर्घाखाँची अस्पतालले ८१, प्युठान अस्पताल ७३, रोल्पा अस्पतालले ७१ प्रतिशत अंक प्राप्त गरेका छन् ।
पाल्पाको रामपुर अस्पतालले ६० प्रतिशत अंक प्राप्त गरेको छ । न्यूनतम सेवा मापदण्ड अस्पतालले उपलब्ध गराउने सेवामा आधारित भएर मूल्यांकन गरिएको हो । ‘अस्पतालले दिने सेवा कस्तो छ ? सल्यक्रिया शुरु भएको छ छैन, अस्पतालको पूर्वाधार कस्तो छ । यी सबै कुराहरुको आधारमा मूल्यांकन गर्ने गरिएको छ’– स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड कार्यक्रमको फोकलपर्सन कौशल भण्डारीले भन्नुभयो– ‘विगत चार वर्षदेखि अस्पताल सुदृढिकरण कार्यक्रम लागु भएको छ । अस्पतालहरुको सेवा सुधारको लागि न्यूनतम मापदण्ड लागु गरेको हो ।’ अस्पतालको सेवा सुधार हुँदै जाँदा सेवाग्राहीको संख्या बढ्न थालेको, अस्पताल सेवा प्रदान गर्न तयारी अवस्थामा रहने बढेको छ ।
स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार देशभरका अस्पतालको तुलनामा लुम्बिनी प्रदेशभित्र रहेको सेकेन्डरी ए लेवलको अस्पतालमा कपिलवस्तु अस्पताल उत्कृष्ट भएको छ । जसले न्यूनतम सेवा मापदण्डमा ९६ प्रतिशत अंक प्राप्त गरेको छ । सेकेन्डरी बी लेवलमा लुम्बिनी प्रादेशिक अस्पताल उत्कृष्ट भएको छ । जसले न्यूनतम सेवा मापदण्डमा ८० प्रतिशत अंक प्राप्त गरेको छ ।
तृतीय स्तरको अस्पतालमा पर्ने भेरी अस्पतालले ६७ नम्बर प्राप्त गर्दै देशभरमा उत्कृष्ट भएको छ । यस्तै स्थानीय तहले सञ्चालन गरेको प्राथमिक अस्पतालमा नवलपरासीको चिसापानी अस्पताल उत्कृष्ट भएको छ ।
न्यूनतम सेवा मापदण्डको समीक्षा
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले निक साइमन इन्स्टिच्यूटसँगको सहकार्यमा प्रदेशस्तरीय न्यूनतम सेवा मापदण्डको समीक्षा कार्यक्रम गरेको छ । स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रामजनम कुर्मीको अध्यक्षता तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव गिरीले अस्पतालहरुले विरामीलाई उपचार गराएर सन्तुष्ट बनाउनुपर्ने बताउनुभयो । ‘मुख्य कुरा भनेको बिरामीको सन्तुष्टि हो, उपचार पाउँदा के कति सन्तुष्ट भएर जानुभयो । यसमा ख्याल गरेर सेवा प्रवाह गरिनुपर्छ’– सचिव गिरीले भन्नुभयो– ‘अस्पतालको सेवामा सुधार भएको पाएका छौं । अझै जनशक्ति व्यवस्थापन सहीरुपमा हुन सक्यो भने उपचार सेवा थप बढ्नेछ ।’
अस्पतालहरुलाई उपकरण दिएर मात्रै नहुने उपकरण चलाउन जान्ने जनशक्तिको समेत व्यवस्था गर्न आवश्यक रहेको छ । स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रामजनम कुर्मीले अस्पताल सुदृढिकरणका लागि विनियोजन भएको सबै बजेट खर्च हुन नसकेको बताउँदै आगामी दिनमा अस्पताल सुदृढीकरणसँग जोडिएका बजेट तथा कार्यक्रम पूर्ण कार्यान्वयन हुनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशभित्रका न्यूनतम सेवा मापदण्ड लागु भएका अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुको समीक्षा कार्यक्रममा सहभागिता थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य निर्देशनालयका डोरबहादुर बस्नेतले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया