लुम्बिनीमा खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धि ऐन बन्दै, लैंगिक समानतामा प्राथमिकता

बासुदेव न्यौपाने,
देउखुरी । लुम्बिनी प्रदेश सरकारले खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धि ऐन निर्माण गर्न थालेको छ । ऐनको मस्यौदा तयार पारेको खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्रालयले त्यस बारेमा छलफल थालेको हो । मस्यौदालाई आधार मानेर लैंगिक समानता तथा सामाजिक समावेशिकरणको दृष्टिकोणले समेत छलफल गर्न थालिएको हो । लुम्बिनी प्रदेश खानेपानी ग्रामीण तथा शहरी बिकाश मन्त्रालयका सचिब जकी महमद अन्सारीले अब बन्ने खानेपानी सरसफाई तथा स्वच्छताको नितिमा लैङगिक समानता र समाबेशितालाई प्राथमिकतामा राखिने बताए ।

 

युनिसेफ नेपालको सहयोग तथा लुमन्तीको समन्वय र लुम्बिनी प्रदेश खानेपानी ग्रामिण तथा शहरी बिकाश मन्त्रालयको आयोजनामा आईतबार आयोजित खानेपानी सरसफाइ तथा स्वच्छताका लागि महिला सजाल निर्माण एबम् क्षमता अभिबृद्वी अभिमुखीकरण कार्यक्रममा बोल्दै सचिव अन्सारीले अब बन्ने खानेपानी स्वच्छता र सरसफाइ नितिमा महिला सहभागीतालाई प्राथमिकतामा राखिने बताए ।

‘ऐनको अवधारणा पत्र तयार पारिएको छ’ सचिव अन्सारीले भने ‘ऐन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दर्ता गरेर सदनमा लगेर पारित गर्ने योजना मन्त्रालयले बनाएको छ ।’ ऐन नहुदा खानेपानी उपभोक्ता संस्थालाई व्यस्थीत गर्ने, दर्ता गर्ने, नियमन गर्ने जस्ता कामहरु प्रभावकारी रुपमा हुन सकेको थिएन । ऐन जारी भयो भने रोकिएका कामहरु गर्न सहज हुने सचिव अन्सारीले बताए । सचिव अन्सारीले भने, ‘अव यो ऐन सदनबाट पारित भएमा यसको कार्यान्वयनमा अघि बढ्ने छौं । अहिले देखिएका जटिलताहरु अन्त्य हुने छन् ।’

लुम्बिनी प्रदेश सरकारको समन्वयमा यूनिसेफ नेपालको सहयोग तथा लुमन्तीको आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छताको बिषयमा अभिमुखीकरण गरिएको हो । प्रदेश भित्रका १०९ स्थानीय तहको वास प्लान निर्माण भइसकेको छ । अव महिला सञ्जाल मार्फत नीति र योजना कार्यान्वयनमा पैरवी गरिने लुमन्तीका कार्यक्रम व्यवस्थापक उद्यवराज भट्टराईले बताए । ‘नीति बनाउने कुरामा, नीति कार्यान्वयन गर्ने कुरामा महिला सञ्जालले पैरवी गर्ने छ । सुरुमा सञ्जालको क्षमता अभिबृद्धि गरेर अघि बढाइने छ’ लुमन्तीका कार्यक्रम व्यवस्थापक भट्टराईले भने ‘नीतिगत र कार्यान्वयनको अवस्थामा अहिले भएका समस्याहरुलाई सम्वोधन गरेर सुधार गर्न पहरेदारी गर्ने छन् ।’

लुम्बिनी प्रदेश स्तरीय महिला सजाल गठन

खानेपानी, सरसफाई तथा स्वच्छता संग जोडिएका सवालमा पैरवी गर्न लुम्बिनी प्रदेशमा महिला सञ्जाल निर्माण गरिएको छ । भगवती अधिकारी संयोजक रहेको सञ्जालमा जिल्लागत रुपमा सदस्यहरु चयन गरिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा रहेका महिलाहरुको सहभागीतामा सञ्जाल गठन गरिएको हो ।

यो सञ्जालको माध्यमबाट खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा लैंगिक समानता तथा सामाजिक समावेशिकरणको अवधारणा अनुसार अर्थपूर्ण सहभागीता सुनिश्चित गर्नेगरी भूमिका खेल्ने योजना बनाइएको छ ।

तपाईको प्रतिक्रिया