पार्टी सभापतिको नाममा मन्त्री बन्न २ करोड घुस माग्ने रास्वपाका सांसद श्रेष्ठ पार्टीबाट निलम्बित

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको नाम लिँदै घुस मागेको अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गर्ने निर्णय गरेको छ।

श्रेष्ठलाई सुरुमा एक साता निलम्बन गर्ने अनि पार्टीको अनुशासन समितिले छानबिन गरि प्रतिवेदन दिएपछि थप कारबाही गर्ने तयारी गरेको छ। रास्वपाका सांसद सन्तोष परियारले उनलाई हाल निलम्बन गरिएको र एक सातापछि छानबिन गर्ने बताए।

सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम माग गरेका थिए। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नका लागि पार्टीलाई २ करोड बुझाउनुपर्ने भन्दै रकम मागेको अडिओ सार्वजनिक भएको थियो।

सांसद श्रेष्ठको अडिओ बैशाख १० को उप–निर्वाचनको मुखमा थाहा पाएपछि पार्टी सभापति रवि लामिछानेले उनलाई तत्काल कारबाही थाल्न पार्टीमा सहमति दिएका थिए।

बैशाख १० मा बारा–२,चितवन–२ र तनहुँ १ मा उम्मेदवारी दर्ता गरेर प्रचारको क्रममा रहेको अवस्थामा दल विवादमा आउने भएकाले उनलाई तत्काल निलम्बन गर्नुपर्ने पक्षमा लामिछाने रहेका थिए । रास्वपाले एक साताका लागि पहिला निलम्बन गर्ने अनि छानबिन प्रतिवेदनको आधारमा निर्वाचन आयोग र संसद्लाई पत्र लेख्ने तयारी गरेको छ।

सांसद श्रेष्ठ दोस्रो पटक विवादमा आएका हुन् । यसअघि उनी पोखराको एक सहकारीको लेनदेनको विवादमा परेका थिए। उक्त समयमा पनि उनीमाथि २ करोड रकम हिनामिना गरेको आरोप थियो।

तपाईको प्रतिक्रिया