दशरथ घिमिरे

देउखुरी । खरको छानो, सिठाले बेरेर माटोले लिपपोत गरिएको एउटा सानो घर । फाटेको झुलभित्र चार दिने शिशुको हेरविचारमा हुनुहुन्छ आमा विमला यादव । लामखुट्टेभन्दा माखाबाट बच्चालाई जोगाउन उहाँले दिउँसै झुल टाङ्नु परेको छ । राजपुर गाउँपालिका वडा नं. ३ भैंसहवा निवासी बिमलाले सुत्केरी भएदेखि पूरा पेट भात खान पाउनुभएको छैन ।
श्रीमान कृष्णकुमार यादवले ऋण धन गरेर ल्याएको चामल सकिएपछि शनिबार त दिनभरि भोकभोकै बस्नु प¥यो । यादव सुत्केरी भएपछि उहाँको नियमित स्वास्थ्य जाँच गर्न बेला स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी घरमै जाने गरेका छन् । सुत्केरी भएको तेस्रो दिन स्वास्थ्य जाँच गर्न घरमै पुगेको बेलामा बिमलाले आफ्नो सबै समस्या स्वास्थ्यकर्मी नन्दा केसी चन्दलाई सुनाउनुभयो । ‘एक गेडो चामल थिएन । बिहान ८ बजे आधा पेट भात खाएदेखि बेलुकासम्म केही खान नपाएको देखें’– केसीले भन्नुभयो– ‘पीडा देख्न नसकेर चामल र केही सामान किनेर दिएँ । सुत्केरी भोकभोकै बस्नुपर्ने अवस्था कस्तो विडम्बना ।’
आमाको प्रशस्त दूध आउँदैन । जसले गर्दा आमा र बच्चा भोकभोकै बस्नुपर्ने बाध्यता छ । सुत्केरी भएको बेला प्रशस्त सन्तुलित खानेकुरा खानुपर्ने हुन्छ तर गरिबीका कारण आमाहरुले सुत्केरी भएको बेलासमेत पूरा पेट खाना खान नपाउने अवस्था देखिएको छ । बिमलाका श्रीमान् एक्लो छोरा हुनुहुन्छ । कृष्णकुमारको बुवा–आमासँग करिब १५ कट्ठा जग्गा छ तर त्यो जग्गाको एक मुठी आयस्ता पनि उहाँहरुले पाउनु भएको छैन । जसले गर्दा कृष्णकुमारलाई परिवार पाल्न समस्या परेको छ । विमलाको कृष्णकुमारसँग दोस्रो विवाह हो । पहिलो विवाहबाट उनको ६ बर्षकी छोरी छिन् । ती छोरी पनि विमलाले आफूसँगै लिएर आएपछि कृष्णकुमारको परिवारले स्वीकार गरेको छैन । दोस्रो विवाहपछि विमलाले एक छोरी र एक छोराको जन्म दिनुभएको छ ।
‘यो नानी पनि मेरो छोरी हो तर बुवा आमाले यसलाई दूध, दही केही पनि दिनुहुँदैन ।’ कृष्णकुमारले भन्नुभयो– ‘बुवा–आमाले ढोका लगाएर बसेपछि समस्या भयो ।’ गाउँलेहरुले पनि कृष्णकुमारको बुवा–आमाको जग्गा जमिन भएकाले सहयोग गर्न आनाकानी गर्ने गरेका छन् तर सम्पत्ति भएर मात्रै के गर्ने भोकले सताएको बेलामा ढुंगो माटो खान भएन । यस्तो पीडादायी अवस्थाबाट कृष्णकुमार र विमलाको परिवार गुज्रिएको छ । राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले सुत्केरी परिवारलाई पेटभरि खाना खाने व्यवस्था मिलाइने बताउनुभयो । ‘तपाइँले भन्नुभयो र मात्रै थाहा पाएँ । त्यहॉँ सहयोग पु¥याउछौं’– बुढाथोकीले भन्नुभयो– ‘घरभेट गरेर अन्य समस्या के के रहेछन् त्यस बारेमा पनि अध्ययन गर्छौं ।’

तपाईको प्रतिक्रिया