देउखुरी । राप्ती गाउँपालिका वडा नं. ४ निवासी सरस्वती रिजाल भालुबाङ महोत्सवमा पुग्दा उनलाई फलामबाट बनेका कृषि औजारले ध्यान तान्यो । घरमा चाहिएको खुर्पा रोज्नुभयो । महोत्सवमा उनलाई घरासयी कामको लागि चाहिएको औजार प्राप्त भयो । ‘महोत्सवमा कृृषि औजार राखेको रहेछ । चाहिएको थियो, सजिलो भयो’– उनले भनिन्– ‘स्थानीय सामग्रीहरु महोत्सवमा देख्न पाउँदा खुशी लाग्यो ।’

भालुबाङमा जारी पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापार, पर्यटन तथा कृषि महोत्सवमा स्थानीय उत्पादन तथा कृषिका सामग्री बिक्री वितरण र प्रदर्शनीमा राखिएको छ । जसले गर्दा स्थानीय उत्पादनका सामग्रीले बजार पाएको छ । तुलसीपुर–३ निवासी अमृत विश्वकर्माले व्यावसायिकरुपमा फलामका सामग्री तयार पार्दै आउनुका छन् ।
विगत पाँच वर्षदेखि विश्वकर्मा मेला महोत्सवमा कृषि औजारका सामाग्री विक्री वितरणका लागि पुग्ने गरेका छन् । ‘यो हाम्रो परम्परागत पेशा हो । यसलाई बजारसँग जोडेका छौं’– उनले भने– ‘खेतीपातीको सिजनमा त धेरै बिक्री हुन्छ । मेला महोत्सवले गर्दा हाम्रा सामग्री बिक्री वितरण भइरहेका छन् ।’ विश्वकर्मा पश्चिममा धनगढीदेखि पूर्वमा बुटवलसम्म सामग्री बिक्री गर्न पुग्ने गरेको बताए ।
उनले फलामबाट बनेका कुटो, कोदालो, सेई, चुलेसी, खुकुरी, खुर्पासम्म बनाएर बिक्री गर्दै आएका छन् ।
प्युठानको नौबहिनी गाउँपालिका–६ बहानेका स्थानीयले अल्लो र सिस्नोबाट बनेका कपडा उत्पादन गर्दै आएका छन् । कोठी हिमाल अल्लो कपडा उद्योग नौबहनी गाउँपालिका–६ बहानेका दिपेन्द्र बुढा मगरले मेला महोत्सवले गर्दा अल्लो सामग्रीको प्रचार भएको बताए । उनले भने – ‘शिरदेखि पाउसम्म लगाउने कपडा बिक्री हुने गरेका छन् । हामी खुशी भएका छौं ।’

दुई सय ५० रुपैयाँको सानो झोलादेखि आठ हजार पाँच सय रुपैयाँ पर्ने कोटसम्म बिक्रीको लागि राखिएको छ । महोत्सव अवलोकन गर्न आउनेहरुले सामग्री रुचाएको उनले बताए । राप्ती गाउँपालिका–८ पिपरीमा समुदायस्तरमा दुनाटपरी उद्योग खोलिएको छ । सालको पातबाट बनेका दुना र टपरी महोत्सवमा राखिएको छ । यसबाट स्थानीय उत्पादनको प्रचारप्रसार भएको छ । हाम्रो बहुउद्देश्यीय कृषि फार्म राप्ती–२ ले विरुवाहरु प्रदर्शनीमा राखेको छ । बेलौती, ड्रागन फ्रट, नीम, कागती, अंगुर लगायतका विरुवाहरु बिक्री वितरण र प्रदर्शनीका लागि राखिएको छ । माटोको भाँडासमेत महोत्सव स्थलमा राखिएको छ ।

गढवा गाउँपालिका वडा नं. १ का स्थानीय कुमाल समुदायले उत्पादन गरेका भाँडाहरु राखिएको छ ।

भालुबाङमा जारी महोत्सवले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र प्रवद्र्धनमा मद्दत गरेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए। ‘स्थानीय सामग्रीकै बजारीकरण गर्ने उद्देश्य हो । हामीकहाँ २१ वटा स्थानीय सामग्रीका स्टल छन्’– उनले भने – ‘महोत्सवले आर्थिक कारोवार समेत बढाएको छ ।’
कृषि महोत्सव भनियता पनि कृषि र स्थानिय उत्पादनहरुले स्थान नपाउदा पछिल्लो समय महोत्सव विवादित हुदै गएका छन् । तर भालुबाङमा जारी पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापार, पर्यटन तथा कृषि महोत्सवमा कृषि र स्थानिय उत्पादनको उपस्थिती राम्रो देखिएको छ । महोत्सव चैत १ गतेसम्म जारी रहेको आयोजक राप्ती उद्योग वाणिज्य संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया