दशरथ घिमिरे

कोइलावास । मोहम्मद बसिरको घर भारत बलरामपुर जिल्ला रनियापुरमा पर्छ । उमेरले ८० वर्ष पुग्नु भएको छ । बसिरको आँखा विस्तारै धमिलो हुँदै गयो । स्थानीय अस्पतालमा जचाउन पुगेका बसिरको त्यहाँ निको भएन । अप्रेशन गर्नुपर्ने सल्लाह दिइयो । बसिरको आर्थिक अवस्था कमजोर भएकाले उपचार नगराई घरै बस्नुभएको थियो । कोइलावासमा निःशुल्क आँखा शिविर चलेको सूचना त्यहाँसम्म पुग्यो । बसिरलाई परिवारका सदस्यले नेपालको कोइलाबास ल्याइपु¥याए । मोतियाबिन्दुको कारण बसिरको आँखाको ज्योति गुम्ने अवस्थामा थियो । शल्यक्रिया भएपछि बसिरले नयाँ जीवन पाउनुभयो । ‘हामीकहाँ उपचार राम्रो छैन । महंगो छ’– बसिरले भन्नुभयो– ‘अब आँखाले देख्न सक्ने भएँ । खुशी छु ।’
कोइलाबासमा निःशुल्क स्वास्थ्य शिविर चल्यो । जहाँ भारतीय नागरिक उपचारका लागि आए । दुई दिनसम्म चलेको शिविरमा भारत उत्तर प्रदेश बलरामपुर जिल्लाका विभिन्न वस्तीका भारतीय नागरिक आँखा उपचारको लागि यहाँ आएका हुन् । नेपालका नागरिक अन्य रोगको उपचारका लागि भारतका अस्पताल जाने गरेका छन् । त्यसैगरी भारतीय नागरिक भने आँखा उपचारका लागि नेपाल आउने गरेका हुन् । नेपाली आँखा उपचार सेवाले भारतीय नागरिकको मन जितेको छ । ‘भारतीय नागरिकलाई कोइलाबासमा आँखा उपचार गर्न निकै सहज छ । धेरै ज्येष्ठ नागरिकमा आँखा सम्बन्धी समस्या छ’– स्थानीय विएमरत्न तुलाधरले भन्नुभयो– ‘आँखा उपचारको लागि हामीले यहाँ धेरै प्रयास ग¥यौं । आँखा उपचार केन्द्र खुलेपछि उपचार लिन सजिलो भएको छ ।’ कोइलाबासमा बसोवास गर्ने स्थानीय र छिमेकी देश भारतका नागरिकलाई आँखा उपचारको लागि सहज भएको हो । कोइलाबास आँखा उपचार केन्द्रमा दैनिक उपचार सेवा सञ्चालन छ भने मोतियाबिन्दुको शल्यक्रिया सेवा पनि दिने गरिएको छ ।
‘भारतमा एउटा आँखाको शल्यक्रिया गरेको ६० हजारसम्म खर्च हुने अवस्था छ । यहाँ त्यसको धेरै गुणा सस्तो छ’– गढवा गाउँपालिका वडा नं. ८ कोइलावासका वडाध्यक्ष अब्दुल खालिक सिद्धिकीले भन्नुभयो– ‘कोइलाबासको आँखा उपचार केन्द्रले यहाँ चहलपहल ल्याउन मद्दत गरेको छ । उपचारकै लागि भारतबाट त्यहाँका नागरिक आउँदा यहाँ चहलपहल छाउने गरेको छ ।’ नेपाल नेत्रज्योति संघले अन्धोपन निवारणका लागि आँखा स्वास्थ्य कार्यक्रम चलाएको छ । नेपालमा आँखा उपचार सहज थिएन । नेपालीहरु भारतको सीतापुरमा पुगेर आँखा जचाउनुपर्ने बाध्यता थियो । पछि नेपालमा आँखा उपचारमा लगानी भएपछि अस्पतालहरु खुले । उपचारमा सहजता आएपछि अन्धोपन निवारण हँुदै गएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा दाङका सभापति कृष्णकुमार गिरीले बताउनुभयो ।
‘हाम्रा पुर्खाहरुले भारतको सीतापुरमा गएर उपचार गर्नुपर्ने अवस्था थियो । अहिले मित्रराष्ट्र भारतबाट त्यहाँका नागरिकहरु उपचार गर्न नेपाल आउने अवस्था सिर्जना भएको छ’– उहाँले भन्नुभयो– ‘नेपालमा आँखाको उपचार सेवा राम्रो भएको उदाहरण हो ।’ भारतसँग सीमा जोडिएको नेपाली नाका कोइलाबासमा आँखाको सर्जिकल सेन्टर स्थापना गरिएको छ । नेपाल नेत्रज्योति संघले कोइलाबासमा आँखाको सर्जिकल सेन्टरको रुपमा विकास गरेको हो । जहाँ हरेक महिनाको एक पटक आँखाको शल्यक्रिया सेवा प्रदान गरिदै आएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिनुभयो । ‘उत्तरप्रदेशभित्र पर्ने विभिन्न जिल्लाका भारतीय नागरिकलाई नेपालमा आएर आँखा उपचार गर्न सहज छ । त्यही भएर उहाँहरुलाई लक्षित गरेर सेवा विस्तारसमेत गरेका छौं’– थापाले भन्नुभयो– ‘हरेक महिना उपचारको लागि ५० देखि ६० जना भारतीय नागरिक लमही अस्पतालमा उपचारको लागि आउने गरेको हामीले पाएका छौं ।’
फागुन २५ र २६ गते कोइलावासमा भएको निःशुल्क आँखा शिविरमा दुई सय ८३ जनाले उपचार सेवा लिएका थिए । जसमा एक सय आठजना पुरुष र एक सय ७५ जना महिला थिए । जसमा भारतीय बिरामी दुई सय ५५ जना थिए भने नेपाली २८ जना रहेको पाइएको छ । मोतियाविन्दुको शल्यक्रया सेवा लिनेमा भारतीय नागरिक धेरै छन् । एक सय २८ जना भारतीय नागरिकको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ भने नेपाली तीनजना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

तपाईको प्रतिक्रिया