गढवामा पालिका स्तरीय खेलकुद प्रतियोगिताको सुरु, लमही नगरपालिका र गढवा गाउँपालिका फाइनलमा प्रवेश

आलोक भावुक
गढवा । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिका स्तरीय खेलकुद प्रतियोगिताको शनिबार गढवामा उद्घाटन गरिएको छ ।

 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदु भन्ने मुल नाराका साथ प्रतियोगिताको शुभारम्भ गरिएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा लुम्बिनी विकास प्राधिकरणका कार्यकारी निर्देशक छबिराज पोख्रेल र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा प्रतियोगिताको कार्यक्रमको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले खेल स्वास्थ्य लाई मात्र नभई देशको लागि पनि आवश्यक रहेको बताए । पहिले अध्यक्षकप खेलकुद प्रतियोगिता हुदै आएको तर यस पटक पालिकाले पालिका स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरी खेलको स्वरुप पनि फेरबदल गरेको बताउदै केही नयाँ खेलहरु थप गरिएकोले आगामी दिनहरुमा अरु खेलहरु पनि थपिदै जानु राम्रो बिषय भएको मन्त्री थारुलै बताए। देउखुरीको तिन पालिका र एक नगर पालिकालाई समेटेर संयुक्त रुपमा खेलको आयोजना गरेकोले यो खेल प्रतियोगिता मात्र नभई आपसी भाईचारा, सद्भाव र समग्र देउखुरी विकाशमा महत्वपूर्ण भूमिका रहने विश्वाश व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खेलकुद प्रतियोगिता लाई एउटा प्रतियोगिता मात्र नभई आगामी वर्ष देखी केही थप खेलहरु थप गरेर खेलकुद उत्सवको रुपमा मनाउने योजना बनाएको बताए । गढवा गाउँपालिका लाई खेलकुदको क्षेत्रमा विकाश गर्न लागिपरेको र पालिकामा पालिका स्तरीय खेलकुद समिति र वडाहरुमा वडा स्तरीय खेलकुद समिति समेत गठन गरि सकेको बताए । खेल क्षेत्रलाई वडा स्तर बाटै पहल गरिने र योजनाबद्ध रुपमा खेल क्षेत्रलाई विकाश गर्दै लैजाने बताउदै पालिका स्थापना दिवसको अवसरमा देउखुरीका चार स्थानीय तह, गढवा, राजपुर र राप्ती गाउँपालिका र लमही नगरपालिका गरी चार वटा पालिका संग मैत्रिपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको बताए ।

प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बल प्रहार र प्रमुख अतिथि मन्त्री थारुले गोल पोस्टको गोल रक्षक बनेर प्रतियोगिताको उद्घाटन गरेका थिए । दुवैजनाले एक÷एक गोल गर्नु भएको थियो।

त्यसैगरी शनिबार भएको खेलमा लमही नगरपालिका र गढवा गाउँपालिका फाइनलमा प्रवेश गरेका छन्। शनिबार गढवा जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा भएको अन्तरपालिका स्तरीय फुटबल खेलको पहिले खेलमा गढवा गाउँपालिकाले राजपुर गाउँपालिका लाई र दोस्रो खेलमा लमही नगरपालिकाले राप्ती गाउँपालिका लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।

लमही नगरपालिका र राप्ती गाउँपालिका बिचको खेल निर्धारित समयमा खेल बराबरी हुदा पेलान्टी सुट बाट लमहीले जित हाँसिल गर्न सफल भएको थियो ।

फाइनल खेल फागुन ३० गते जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानमा हुने कार्यक्रम तय गरिएको गढवा गाउँपालिकाले बताएको छ ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गरेका थिए ।

तपाईको प्रतिक्रिया