दाङका सिमानामा कष्टकर पहरा

दशरथ घिमिरे

 

देउखुरी । सिमानामा धेरै दुःख छ । बत्ती छैन । खानेपानी छैन । बाटो छैन । सञ्चार छैन तर सीमा रक्षा गर्न नेपाली सुरक्षा फौज २४ घण्टा खटिएको छ । जहाँ ओत लाग्ने गतिलो छानो छैन तर देशको सिमानाको चिन्ता छ । राम्रो खानेपानी छैन तर प्यास प्यासै भए पनि देशको सिमानाको रक्षा गर्नु छ । क्याम्पसम्म पुग्ने राम्रो बाटो छैन तर सिमाना जोगाउने दृढता छ । सरुवा भएर आएको केही दिनमै सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गण हेड क्वाटर ज्वालामाई गण भालुबाङका प्रहरी प्रमुख गोपालप्रसाद श्रेष्ठ सीमा क्षेत्रको अनुगमनमा निस्कनुभयो । उहाँले सीमा क्षेत्रको मात्रै नभई त्यहाँ रहेका सीमा सुरक्षा र सशस्त्र प्रहरी जवानले भोग्दै आएका समस्यालाई नियाल्नुभयो । दाङबाहेक सुगम भएका सीमा क्षेत्रको अवस्था थाहा छ । दाङमा खुला सिमाना छ तर निकै विकटता पनि छ ।

‘१३ वटा सीमा प्रहरी पोष्टमा पुगें । न त्यहाँसम्म पुग्ने राम्रो बाटो छ । आफ्नै देशको भूभागमा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता तर सीमा सुरक्षामा खटिएका जवानहरुको मनोबल बढाउने काम गरें’– उहाँले भन्नुभयो– ‘सीमा सुरक्षा गर्न सीमित स्रोत साधनमा पनि उच्च योगदान पुगेको छ ।’ दाङको ८६ किलोमिटर सीमा रक्षाका लागि नेपाली सुरक्षाकर्मी चौबिसै घण्टा खटिएका छन् । पछिल्लो समय सीमा सुरक्षामा नेपाल सशस्त्र प्रहरीले दाङमा सुरक्षा पोष्ट बढाएको छ । पाँचवटा बोर्डर आउट पोष्ट छन् र बाँकी आठवटा अस्थायी प्रकारका सीमा सुरक्षा चौकी छन् । गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा सीमा सुरक्षा पोष्ट रहेका छन् । सीमा क्षेत्रमा सबैभन्दा पहिले कोइलावासमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट बस्यो । जहाँ प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाकर्मी तैनाथ भए । त्यसपछि सशस्त्रले सुनपथ्री, खांग्रामा आफ्नो उपस्थिति बढायो । बितेको तीन वर्षको अवधिमा सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १३ वटा चौकी पुगेका छन् ।

भारतले हरेक चार–चार किलोमिटरको दूरीमा आफ्ना सुरक्षा पोष्ट राखेको छ । अहिले नेपाल सरकारको तर्फबाट सशस्त्र प्रहरीलाई पनि सोहीअनुसार सीमा सुरक्षाको लागि खटाइएको हो । ‘समग्र जिल्लाको शान्ति सुरक्षामा हामीले ध्यान दिन्छौं । यसका अतिरिक्त जिम्मेवारी भनेको सीमा सुरक्षा हो’– श्रेष्ठले भन्नुभयो– ‘देशको सीमा सुरक्षाका लागि जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार भएर सीमामा खटिएका छौं ।’ सशस्त्र प्रहरीका भौरीसाल, खबरी नाका, गुरुङ नाका, पटौली, डगमारा, भैंसाही, भौवालगायतका नाकामा सीमा प्रहरी पोष्ट छन् । फुसका छाना भएका घरमा सीमा प्रहरी पोष्ट छन् । सशस्त्र प्रहरीका मात्रै होइन, नेपाल प्रहरीका सीमा सुरक्षा चौकी पनि त्यस्तै साधन स्रोतविहीन अवस्थामा छन् तर पनि सीमा सुरक्षाका लागि योगदान दिएका छन् । ‘यहाँ चौकी आउँदैनथ्यो भने नाकामा झनै दमन बढ्थ्यो’– नाका निवासी सन्देश विश्वकर्माले भन्नुभयो– ‘सीमाको सुरक्षामा यहाँ बसोवास गर्ने नागरिकहरुको पनि ठूलो योगदान छ ।’

भारतबाट सीमा मिचिदै मिचिदै भित्र आइसक्यो । सीमा सुरक्षा यहाँका नागरिकबाट भयो । पछि सुरक्षा फौज बसेपछि ढुक्क भयो ।’ सीमा क्षेत्रबाट हुन सक्ने अवैध चोरी निकासीलगायत सीमा क्षेत्रको रक्षा नै पहिलो जिम्मेवारी छ । दैनिक सीमा क्षेत्रमा अनुगमन गर्ने काम चलिरहेको छ । बेला बखत दुबै देशका संयुक्त गस्ती हुने गरेको छ । दाङमा ३७ मुख्यसहित ७७ वटा सीमा स्तम्भ छन् । तीमध्ये जीर्ण रहेका सीमा स्तम्भ मर्मत गरिएको छ भने ४८ नम्बरको पिलर भने खोलाले बगाएको छ ।

सीमा नाकाको अनुगमनपछि मंगलबार परिचयात्मक कार्यक्रम गरेर सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गण हेडक्वाटर ज्वालामाई गण भालुबाङका प्रमुख गोपालप्रसाद श्रेष्ठले सीमा सुरक्षाको लागि सिमानामा खटिएका प्रहरी जवानको मनोबल उच्च बनाउन जरुरी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया