
ओमप्रकाश गुप्ता, भालुवाङ । दाङको राप्ती गाउँपालिकाको भ्रमण टोलीले स्याङ्जाको भीरकोट र वालिङ नगरपालिकामा रहेको फोहोरमैला व्यवस्थापन केन्द्रको अवलोकन गरेको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ४ मा फोहोर व्यवस्थापनको काम हुँदाहुँदै स्थानीयहरूद्वारा विरोध भएपछि त्यहाँका स्थानीयहरूलाई फोहोरमैलाका विषयमा बुझाउन राप्ती गाउँपालिका र ४ नम्बर वडा कार्यालयको टोली स्थानीयहरूलाई नै साथमा लिएर सोमबार स्याङ्जा गएको थियो ।
टोलीले मंगलबार भीरकोट नगरपालिका वडा नम्बर ४ सिसौघारीमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र र वालिङ नगरपालिका वडा नम्बर ६ मा रहेको फोहोरमैला व्यवस्थापन केन्द्रको अध्ययन तथा अवलोकन गरि सुझाव समेत लिने काम गरेको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिएका छन् ।

फोहोरमैलालाई कसरी व्यवस्थापन गरिएको छ र फोहोरबाट कसरी मोहर बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिएको वडा अध्यक्ष चौधरीले बताएका छन् । भीरकोटमा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र २०७२ सालमा स्थापना भई २०७३ को अन्तिमबाट फोहोर उठाउन सुरू गरेको हो । ९ वटा वडा मध्ये १, २, ४, ५ र ६ बाट अहिले फोहोर उठाउने काम भइरहेको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेलले जानकारी दिएका छन् ।
२८ रोपनी क्षेत्रफलमा रहेको सो केन्द्र बनाउन डेढ करोड नगरपालिका र संघको ३ करोड गरि साढे ४ करोड बढीको लागत रहेको छ । गल्ने र नगल्ने फोहोरलाई छुट्टाछुट्टै संकलन गरि व्यवस्थापन गरिएको छ । गार्ड सहित १० जना कर्मचारी खटाएर एउटा मिनि टिप्परबाट फोहोर उठाउने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।
त्यस्तै स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ६ मा २०५४ सालमा फोहोर उठाउन सुरू गरिए पनि २०७४ साल देखि भने फोहोर व्यवस्थित हुँदै गएको छ ।

१४ वटा वडा मध्ये बजार क्षेत्रका वडाबाट फोहोर उठाउने काम गरिएको छ । ३९ रोपनी क्षेत्रफलमा रहेको सरसफाई केन्द्रमा १२ जना कर्मचारी खटिएको सरसफाई संयोजक भुपराज काफ्लेले जानकारी दिएका छन् ।
भ्रमण टोलीमा वडा अध्यक्ष वीरबहादुर चौधरी, अन्य जनप्रतिनिधि, कर्मचारीहरू, शिक्षक, टोल विकास समितिका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरू गरि ३९ जनाको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया