पक्राउ परे सामाजिक सञ्जालमा ‘मिदी प्रहरी’ भन्ने भाइरल युवक

कपिलवस्तु । म्यादी प्रहरीबारे गलत सन्देश जाने गरी सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फेसबुक र टिकटकमा भाइरल भिडियो बनाएको आरोपमा वाणगंगा नगरपालिकाका १६ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरेको हो ।

प्रहरी नियन्त्रणमा रहेका रेग्मीले म्यादी प्रहरीको पोशाकमा सामाजिक सञ्जाल टिकटकमा आफ्ना भिडियोहरु पोस्ट गरेका थिए । तर उनी ’म्यादी प्रहरी’ भनिए पनि अर्काको पोशाकबाट भिडियो बनाएको खुलेको छ । म्यादी प्रहरीमा भर्ना हुनलाई कम्तीमा १८ वर्ष पूरा भएको हुनुपर्छ ।

कानुनले बर्जित गरेका शब्दहरु उच्चारण गर्दै भिडियो बनाएका रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछको क्रममा उनी म्यादी नै नभएको खुलेको कपिलवस्तुका एसपी दानबहादुर कार्कीले बताए ।

भिडियोमा म्यादी प्रहरीको पोशाकमा देखिएका उनले ‘आफू मिदीमा भर्ना भएको’ भन्दै जे गरे पनि कसैले केही गर्न नसक्ने बताएका थिए । रेग्मीलाई म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने पुरन भट्टराईलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया