
काठमाडौं । एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन्।
कतार एअरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनलाई प्रहरी वृत्त गौशालामा राखिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो। उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट काठमाडौं अवतरण गरेका हुन्।
सन्दीपले बिहीबार आफू स्वदेश फर्किन लागेको जानकारी गराएपछि बिहानैदेखि विमानस्थलमा प्रहरी तैनाथ भएको थियो।
सन्दीपले नेपाल फर्केसँगै प्रहरीसँग आत्मसमर्पण गर्ने र कानुनी लडाइँ लड्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए। क्रिकेट खेल्न केन्या पुगेका बेला लामिछानेविरुद्ध गत भदौ २१ गते एक किशोरी जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्।
त्यसपछि प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। त्यसको केही समयसम्म उनी सम्पर्कविहीन भएका थिए। पछि लामिछानेविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।
डिफ्युजन नोटिस जारी भएपछि सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सन्दीपले चाँडै नेपाल फर्किने बताएका थिए। उनले अघिल्लो शनिबार पनि एक पोस्ट लेख्दै अक्टुबर ६ अर्थात असोज २० गते नेपाल आउने उल्लेख गरेका थिए।
कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनलाई प्रहरीले विमानस्थलमै हत्कडी लगाएको छ । हत्कडी लुकाउने प्रयासमा त्यसमाथि रुमाल राखिएको छ ।
सन्दीपले आफूले आत्मसमर्पण गर्न लागेकाले हतकडी नलगाइदिन र आफ्ना वकिललाई विमानस्थलमै उपस्थित गराइदिन प्रहरीसमक्ष माग गरेका थिए, तर उनका दुवै माग सम्बोधन भएनन् ।

तपाईको प्रतिक्रिया