काठमाडौं । नेपालले केन्याविरुद्धको टी ट्वान्टी सिरिजमा जित निकालेको छ।

पाँच खेलमा नेपालले तीन खेलमा जित निकालेको हो। अन्तिम तथा निर्णायक मानिएको मंगलबारको खेलमा घरेलु टोली केन्यालाई नेपालले ३१ रनले पराजित गरेको हो।
टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको केन्या निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रनमै समेटियो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ४४ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए। उनको टी–२० आईमा करिअरको दोस्रो अर्धशतक हो। उनी आजको खेलमा पवन सरार्फको स्थानमा ओपनिङमा उत्रिएका थिए।
यता, मध्यक्रमका रोहितकुमार पौडेलले २५ बलमा ७ चौकासहित ४७ रन बनाए। यस्तै, ओपनर अर्जुन साउदले २१ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए। तेस्रो नम्बरमा ब्याटिङमा उत्रिएका दीपेन्द्रसिंह ऐरीले १८ बलमा ३ चौकासहित २२ रन बनाए।
केन्याका लागि विराज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बोले २/२ विकेट लिए। यता, लुकास ओलुओचले १ विकेट लिए।

तपाईको प्रतिक्रिया