काठमाडाैं। निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्माण गरेको आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। आयोगले निर्णय गरेका दिनदेखि अब यो आचारसंहिता लागू हुनेछ।

आयोगले यसअघि दलहरुसँग आचार संहिताको बारेमा छलफल पनि गरेको थियो। आचारसंहितामा आयोगले दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ। आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको हो।
निर्वाचन आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिमा पाँचजना सचिवहरु रहने राजपत्रमा प्रकाशित आचार संहितामा उल्लेख छ।
निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानून, गृह र सञ्चार मन्त्रालयका सचिव स्वतः अनुगमन समितिमा रहने व्यवस्था छ। निर्वाचन सेल हेर्ने नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पनि समितिमा रहनेछन्। निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी महाशाखाको प्रमुख समितिको सदस्य सचिवको रुपमा काम गर्नेछन्। हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्लास्तरीय आचारसंहिता अनुगमन समिति बन्नेछ।
उक्त समितिमा प्रमुख जिल्ला अधिकारी सहसंयोजक हुनेछन् भने प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयको प्रमुख सदस्य हुनेछन्। आयोगले गत वैशाख ३० गते निर्माण गरेको भन्दा कडाई गर्दै आचार संहिता निर्माण गरेको हाे।

तपाईको प्रतिक्रिया