
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि दशौं राष्ट्रिय महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका आचार्य पुनः ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । आचार्यले एक हजार दुई सय ५१ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेका अनुभवी, अनुशासित र परिणाममुखी नेताका रूपमा आचार्यको पहिचान स्थापित छ । संगठन निर्माणदेखि प्रदेश शासनसम्मको लामो राजनीतिक यात्रामा उहाँले व्यवहारिक नेतृत्व, कडा निर्णय क्षमता र सरल जीवनशैलीमार्फत आफ्नै पहिचान बनाउनु भएको छ ।
आचार्यको राजनीतिक यात्रा २०३९ सालमा अनेरास्ववियूबाट सुरु भएको हो । २०४७ सालमा जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला सचिव, २०६९ देखि २०७८ सालसम्म जिल्ला अध्यक्ष रहनुभएको थियो । त्यसपछि पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको हो ।
उहाँ दुई पटक प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यस अवधिमा आन्तरिक मामिला, सहरी विकास तथा खानेपानी, आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै हाल मुख्यमन्त्रीको भूमिकामा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया