देउखुरी । रोटरी क्लव अफ राप्तीले दाङको राप्ती गाउँपालिका वडा नं. २, लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयलाई छात्रा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।

रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यको अध्यक्षता तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर विरु राउतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष आचार्यले विद्यालयका सहायक प्रधानाध्यापक विष्णु पोख्रेललाई शौचालय हस्तान्तरण गर्नुभयो ।

प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर विरु राउतले शौचालयसँगै विद्यालयको सरसफाइ व्यवस्थामा सुधार हुने गरी सेनेटरी प्याड डिस्पोजल मेसिनसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले छात्रा शौचालय निर्माण सहयोगका लागि रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ प्रति धन्यवाद व्यक्त गर्नुभयो । शौचालय निर्माणमा डिष्ट्रिक ३२९२ बाट २ लाख रुपैयाँ, विद्यालयबाट १ लाख रुपैयाँ र रोटरी क्लव अफ राप्तीबाट १ लाख १४ हजार २८ रुपैयाँ गरी कुल ४ लाख १४ हजार २८ रुपैयाँ खर्च भएको जानकारी न्यौपानेले दिनुभयो ।

शौचालय हस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ राप्तीका संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निवर्तमान अध्यक्ष तपराज आचार्य, निर्वाचित अध्यक्ष बसन्त गिरी, मोहन आचार्य, दोण प्रसाद आचार्य, अनिल केसी, अनिल पौडेल, कमल केसी, पीतम्बर रोकाया, भरतमणि न्यौपाने लगायतको उपस्थिति थियो । विद्यालय व्यवस्थापन समिति सदस्य दासीराम आचार्य, शिक्षक अभिभावक संघका प्रतिनिधि, विद्यालयका सहायक प्रअ विष्णु पोख्रेल, शिक्षक–शिक्षिका, पत्रकार तथा विद्यार्थीहरू समेत सहभागी भएका थिए । कार्यक्रम प्रस्तावित अध्यक्ष मोहन आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दोर्ण प्रसाद आचार्यले गर्नुभयो ।


तपाईको प्रतिक्रिया