दशरथ घिमिरे

दाङ–लुम्बिनी प्रदेशमा कुल जनसंख्याको दुई दशमलव ३७ प्रतिशत अपांगता भएका व्यक्तिहरु रहेको तथ्यांक छ। जनगणना २०७८ का अनुसार प्रदेशमा एक लाख २१ हजार दुई सय ८९ जना व्यक्ति अपांगता भएको, जस मध्ये महिला ४५ दशमलव ८ प्रतिशत र पुरुष ५४ दशमलव २ प्रतिशत छन्।
अपांगताको १२ प्रकारका मध्ये सबैभन्दा धेरै शारीरिक अपांगता भएका व्यक्तिहरुको संख्या ४५ हजार पाँच सय ६९ रहेको छ भने अटिजम भएका व्यक्तिको संख्या ८ सय ५६ रहेको छ। न्यून दृष्टियुक्त व्यक्ति २१ हजार २ सय ७७, पूर्ण दृष्टिविहीन ६ हजार ६६, बहिरा ९ हजार ३ सय ५३, सुस्त श्रवण ९ हजार ६ सय ५३, श्रवण दृष्टिविहिन एक हजार ८ सय ६९ जना छन्।
यसैगरी स्वरबोलाई ७ हजार एक सय ७४, मनोसामाजिक ५ हजार एक सय ८२, वौद्धिक दुई हजार दुई सय ४९, हेमोफेलिया ९ सय ५८, बहु अपांगता १० हजार दुई सय ३५, प्रकार नखुलेको ८ सय ७५ रहेका छन्। रुपन्देहीमा सबैभन्दा धेरै १८ हजार ३ सय ५५ र सबैभन्दा कम रुकुम पूर्वमा दुई हजार एक सय ५३ जना अपांगता भएका व्यक्तिरहेको तथ्यांक छ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले अझैं पनि अपांगता भएका व्यक्तिलाई राज्यको मुलधारमा ल्याउनेगरी काम गरिनुपर्ने बताइन्।
‘अझैं पनि सामाजिक, सांस्कृतिक अवरोधहरुको सामना गर्नुपरिररहेको छ’उनले भनिन्,‘भौतिक अवरोध पनि उत्तिकै छन्। यी सबै अवरोधहरुको अन्त्य गरेर अपांगता भएका व्यक्ति राज्यको मुल धारमा आउने समाज बनाउन जरुरी छ।’ लुम्बिनी प्रदेशमा ३४औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया गरिएको थियो।
राष्ट्रिय अपांग महासंघ लुम्बिनीका उपाध्यक्ष देवा डाँगीको अध्यक्षता तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी लगायत विभिन्न मन्त्रालयका सचिव तथा सरोकारराख्ने निकायका प्रतिनिधिले वकालतपूर्ण विचार राखेका थिए।

तपाईको प्रतिक्रिया