
तुलबहादुर कवँर मगर
प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघ राप्तीले शुक्रबार राप्ती गाउँपालिका कार्यालय मसुरियामा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा धर्ना दिएको छ।
केन्द्रीय सर्कुलरअनुसार महासंघले पहिलो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत पालिकामा धर्ना दिएको हो।
राप्ती गाउँपालिका शिक्षक महासंघका अध्यक्ष कुलराज जैसीका अनुसार, विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नगरी शिक्षा विधेयक अघि बढाइएकाले दबाब स्वरूप धर्ना दिनु परेको हो। उहाँले सार्वजनिक शिक्षाको उन्नयनका लागि महासंघले राखेका माग सम्बोधन गर्नु अपरिहार्य रहेको बताउनुभयो।
महासंघले केन्द्रीय कार्यक्रमअनुसार भदौ १५ गते जिल्ला शिक्षा इकाईमा धर्ना दिने कार्यक्रमसमेत तय गरेको छ।
महासंघले अस्थायी शिक्षक पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने माग गरेको छ। तर समितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धा गर्ने व्यवस्था गर्दै विधेयक प्रतिनिधि सभामा पठाएपछि महासंघ असन्तुष्ट बनेको हो।
त्यसैगरी विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको, बालकक्षा शिक्षकको सेवा–सुविधा स्पष्ट नगरिएको, संस्थागत विद्यालयका शिक्षकका हकअधिकार कमजोर बनाइएको र अव्यवहारिक सरुवा प्रणाली ल्याइएकाले आन्दोलनमा उत्रिनु परेको महासंघले जनाएको छ।
संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ गते पारित भई प्रतिनिधि सभामा पुगेको छ।

तपाईको प्रतिक्रिया