राप्तीमा रोटरीको अभियानः ५ हजार बालबालिकाको परीक्षण गर्दा ९ जनामा भेटियो मुटुरोग

 

 

देउखुरी । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको मुटु परीक्षण कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ ।

रोटरी क्लव अफ राप्तीको विशेष पहलमा सोमबारदेखि रोटरी क्लब राप्ती, राप्ती गाउँपालिका र रोटरी क्लब चन्द्रागिरीको संयुक्त आयोजनामा बालबालिकाहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोग परीक्षण सुरु गरिएको थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सुरु गरिएको हो।

पहिलो चरणमा सामुदायिक विद्यालयमा अध्ययनरत ५ हजारभन्दा बढी बालबालिकाहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोग परीक्षण गरिएको रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यले बताए । ‘पहिलो चरणमा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको मुटुरोग परीक्षण गरिएको छ,’ अध्यक्ष आचार्यले भने ‘ केही समयपछि दोस्रो चरणमा संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाहरुको परीक्षण गरिने छ ।’

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य तथा मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेका अनुसार सामुदायिक विद्यालयका ५ हजारभन्दा बढी बालबालिकाहरुमा जन्मजात मुटुरोग तथा बाथ मुटुरोग परीक्षण गर्दा ६ जनामा जन्मजात मुटुरोग र ३ जनामा बाथ मुटुरोग गरी ९ जनामा मुटुरोगको समस्या भेटिएको जानकारी दिए । मुटुमा समस्या देखिएका बालबालिकाहरुको निःशुल्क शल्यक्रिया हुने डा. बन्जाडेले जानकारी दिए ।

 

रोटरी क्लव अफ राप्तीका सर्भिस प्रोजेक्ट निर्देशक बासुदेव न्यौपानेले क्लवको वर्ष २०२५/२६ को बार्षिक कार्ययोजना अनुसार राप्ती गाउँपालिका, रोटरी क्लव चन्द्रागिरीको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको बताए । न्यौपानेका अनुसार राप्ती गाउँपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १३ हजार ७ सय १८ जना बालबालिकाहरुको जन्मजात मुटुरोग तथा बाथ मुटुरोग परीक्षण गर्ने लक्ष्य रहेतापनि दुई चरण परीक्षण गर्ने र दोस्रो चरणमा संस्थागत विद्यालयका बालबालिकाहरुको परीक्षण गरिने छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया