रोटरी क्लव राप्तीद्धारा अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस शंकर माध्यमिक विद्यालयमा सम्पन्न

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा अवस्थित शंकर माध्यमिक विद्यालयमा रोटरी क्लव अफ राप्तीले ‘जन्जिर तोडौः रोकथाम, उपचार र पुनस्र्थापना’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस जनचेतना कार्यक्रम गरी मनाएको छ ।

 

हरेक वर्ष जुन २६ मा मनाइने दिवसमा रोटरी क्लव अफ राप्तीको आयोजना, लागुऔषध दुव्यर्सन रोकथाम अभियान नेपालको प्राविधिक सहयोगमा जनचेतना कार्यक्रम सम्पन्न भएको हो । क्लवका वर्ष २०२५–२०२६ का अध्यक्ष गोपाल आचार्यको अध्यक्षता तथा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद चौधरीको प्रमुख आथित्यतामा शंकर माध्यमिक विद्यालय पिपरीमा कक्षा ८ देखि १० कक्षासम्म अध्ययनरत करिव ७० जना विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसन सम्बन्धी शिक्षा दिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद चौधरीले लागुऔषध दुव्र्यसनी शिक्षा कार्यक्रममा सिकेका कुरा आफुमा मात्र लागु नगरी आफ्ना अभिभावकलाई पनि जानकारी गराउन विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । सुर्ती, गुट्काका सेवनले कम उमेरमै प्राण घातक रोग क्यान्सर लागिरहेको छ, त्यसैले यस्ता रोगहरुबाट बच्न पनि विद्याथीहरुले दैनिक जिवनमा पनि लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय युवा वर्गमा लागुऔषध सेवन विकराल बन्दै गएको छ । यस तर्फ समयमै सचेत नहुने हो भने धेरै जसो युवा लागुऔषध दुव्र्यसनीमा पर्ने निश्चित जस्तै भएको छ । विशेषगरी कक्षा ८ देखी १२ कक्षाका विद्यार्थीहरुमा लागुपदार्थ सेवन गर्नेको संख्या वृद्धि भइरहेको छ । युवाहरु लागुऔषध दुव्र्यसनिमा फस्दै गएपछि यसको रोकथामका लागि रोटरी क्लव अफ राप्तीले अभियान नै चलाएर जनचेतना कार्यक्रम गर्दै आएको क्लवका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले बताउनु भयो ।

कक्षा ८ देखि १० कक्षासम्म अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै सो जनचेतना कार्यक्रम गरेको रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यले जानकारी दिनुभयो ।अध्यक्ष आचार्यले भन्नु भयो ‘विद्यार्थीलाई दुव्र्यसनबाट टाढा राख्नैपर्छ । यसका लागी हामीले विद्यालयमै आएर अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसमा जनचेतना सम्बन्धी कार्यक्रम गरेका हौं ।’

लागुऔषध दुव्यर्सन रोकथाम अभियान नेपाल लुम्बिनी प्रदेशका संयोजक तथा नार्कोनन् नेपाल लुम्बिनीका अध्यक्ष बसन्त बहादुर पुन मगरले प्रशिक्षण दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया