बासुदेव न्यौपाने/देउखुरी । गढवा उद्योग वाणिज्य संघ गढवाले महोत्सव लगाउने भएको छ । गढवा उद्योग वाणिज्य संघले शनिवार गढवामा पत्रकार सम्मेलन गरेर जनता माध्यमिक विद्यालयको खेल मैदानमा ‘प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२’ सञ्चालन हुने जानकारी गराएको छ ।

‘स्थानिय उत्पादन, समृद्ध पालिका– उद्योग, पर्यटन र व्यवसायः समृद्धिको मेरुदण्ड’ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष ओम बस्यालले जानकारी दिएका छन् । संयोजक बस्यालले भने ‘गढवा उद्योग वाणिज्य संघको आयोजनामा यहि असार ३ गतेदेखि १२ गतेसम्म गढवामा महोत्सव सञ्चालन हुने छ ।’
करीब ६० हजार दर्शकले अवलोकन गर्ने महोत्सवमा गढवा र राजपुरमा उत्पादित कृषि प्रर्दशनी तथा विक्री कक्ष, पशु प्रर्दशनी तथा विक्री कक्ष, माटोको भाडा प्रर्दशनी तथा विक्री कक्ष, गढवा र राजपुर क्षेत्रका पर्यटन स्थलको जानकारी कक्ष, गड्यौला मल प्रर्दशनीसमेत रहने संयोजक बस्यालले जानकारी दिए । स्थानीय उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।
महोत्सवबाट आम्दानी भएको रकमबाट उद्योगी व्यवसायीहरुको लागि व्यवसायीक सुरक्ष कोष पूर्ण रुपमा संचालनमा ल्याउने, बजार क्षेत्रमा अत्याधुनिक सिसि क्यामरा जडान, सडक बत्ती जडान, गढवा र राजपुर बजार क्षेत्रमा फोहर मैला व्यवस्थापन अन्र्तगत डस्टविनहरु वितरण गरिने संयोजक बस्यालले बताए ।
महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन रहने छ । महोत्सव अवधीभर ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहनुको साथै महोत्सव अवधीभर नृत्य प्रतियोगितासमेत हुने छ ।
महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति एक सय, र जेष्ठ नागरिक तथा अपाङगतालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् ।
संघका अध्यक्ष ओम बस्यालको संयोजक रहने गरी मुल आयोजक समिति गठनगरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया