
देउखुरी । राप्ती उद्योग वाणिज्य संघले आफ्ना वार्षिक कार्ययोजना अनुसार सञ्चालन गरेको घरदैलो अभियान सम्पन्न भएको छ। राप्ती गाउँपालिका वडा नं. १ चैतेबाट सुरु गरिएको घरदैलो अभियान आज मौरीघाटसम्म पुगेर सम्पन्न भएको हो । संघले स्थानीय उद्योगी तथा व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको समस्या, सुझाव तथा सल्लाह संकलन गरेको छ।
घरदैलो अभियानबाट व्यवसायीहरू उत्साहित बन्नुको साथै उनीहरूले संघको सक्रियता र सहभागितालाई सकारात्मक रुपमा लिएका छन्। व्यवसायीहरूले संघप्रति विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरेका छन्।

संघले आफ्नो कार्यक्षेत्रभित्र रहेका उद्योगी तथा व्यवसायीहरूसँग लिइएको सल्लाह सुझाव अनुसार उनीहरुको समस्या समाधानका पहल अघि बढाइने राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले बताए । अध्यक्ष खड्काले भने ‘व्यवासयीहरुको क्षेमता विकास गर्न, उनीहरूको हक–हित संरक्षण तथा प्रवर्धन गर्न घरदैलो अभियान महत्वपूर्ण बन्यो ।’
अभियानको क्रममा व्यवसायीहरूले विभिन्न समस्या उठान गर्दै व्यवसायीहरू अन्यत्र पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरिएक थिए । उक्त समस्याको कारण पहिचान गरी समाधान गर्न संघले जिम्मेवारीपूर्वक पहल गर्नुपर्ने सुझाव व्यवसायीहरूबाट आएको छ।

व्यवसायीहरुले व्यवसाय सञ्चालन सम्बन्धी आवश्यक क्षेमता अभिबृद्धि सम्बन्धि तालिम, शनिबारको बन्द कडाइका साथ लागू गर्नु पर्ने र अटेरी गर्नेहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाउन, फोहोर व्यवस्थापनका लागि डसविन उपलब्ध गराइदिन जस्ता माग गरेका संघका महासचिव बासुदेव न्यौपानेले बताए । महासचिव न्यौपानेले संघले व्यवसायीहरूको हक हितको संरक्षण गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
अध्यक्ष सुरज खड्को नेतृत्वमा भएको घरदैलो अभियानमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया