
देउखुरी । सार्वजनिक बिदाको दिन अनुमतिपत्र नलिएर चलाएका ३ वटा सरकारी सवारी साधन ईलाका प्रहरी कार्यालय भालुवाङले नियन्त्रण लिएको छ ।
लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा क्रियाशिल पत्रकारहरुको छाता संस्था राप्ती प्रेस मञ्चले सार्वजनिक बिदाको दिन हुने सरकारी गाडीको दुरुपयोग रोक्न सुरु गरेको अभियानमा उक्त सरकारी सवारी साधन प्रहरीले नियन्त्रण्मा लिएको हो ।
मञ्चले जिल्ला प्रशासन कार्यालय दाङको समन्वय तथा ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङको बिशेष सहयोगमा शनिबार सरकारी गाडी चेकचाँच गर्ने देखि नियन्त्रणमा लिने सम्मको कार्य हो । आज भालुवाङ, पुल्चोक बजारमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको सहयोगमा सरकारी गाडीहरुको निगरानी गरिएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले बताए । सार्वजनिक बिदाका दिन सरकारी गाडीले सम्बन्धित निकायमा अनुमति लिए नलिएको कागजपत्र सहितको चेक जाँच गरिएको थियो ।
जस मध्ये एउटा मन्त्रालय र एउटा यातायात कार्यालय सहित ५ वटा सवारीसाधनहरुले बिना अनुमति चलाएको भन्दै प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । जसमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको बा २ झ १९४८ नम्बरको स्कारपियो, यातायात व्यवस्था कार्यालय बुटवलको लुम्बिनी ए.ए.ए. ८६९३ नम्बरको मोटरसाइकल र नौमुरे आयोजनाको बागमति प्रदेश ०२००१ ब ४५४२ नम्बरको मोटरसाइकलले सवारी पास नलिईकन चलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका तीन वटा सरकारी गाडीलाई १ घण्टा आफ्नो नियन्त्रणमा लिई ती सवारीका चालक र सवार व्यक्तिहरुलाई एक पटकलाई सम्झाई बुझाई गरी छोडिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।
मञ्चको गत बैशाख २१ गते सम्पन्न पूर्ण बैठकले राजधानी क्षेत्रमा हुने सरकारी गाडीको दुरुपयोग रोक्न प्रहरी संगको सहकार्यमा एक्सनमा उत्रिने निर्णय गरेको थियो । सो अनुरुप मञ्चले शनिबारबाट सडक एक्सन शुरु गरेको दिनु भएको छ । राजधानी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी गाडीको चरम दुरुपयोग बढेको भन्ने व्यापक जनगुनासो बढेपछि मञ्चले प्रशासन संगको समन्वयमा सडक एक्सन शुरु गरेको मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीले जानकारी दिए । । उनले अब सार्वजनिक बिदाको दिन ठाउँ र समय फरक पारेर प्रहरीको सहयोगमा सरकारी गाडी दुरुपयोगलाई छड्के रिपोर्टिङ गर्ने समेत बताए ।
मञ्चले बिहान ७ बजेदेखि १० बजे सम्म भालुवाङ पुल्चोक बजारमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा सरकारी गाडीको निगरानी गरेको थियो । सो अवसरमा बोल्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले बिदाको समयमा गाडी चलाउन परे सम्बन्धित निकाय सँग अनुमति लिएर मात्र गाडी चलाउन सुझाव दिए । बिना काम कसैले पनि सरकारी गाडी चलाउँछ भने कानुन अनुसार कारवाही हुने प्रहरी निरिक्षक ऐरीले बताए ।

तपाईको प्रतिक्रिया