दाङ–लुम्बिनी प्रदेशको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीइटी) प्रोफाइल सार्वजनिक गरिएको छ । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानिएल माउलीको विशेष उपस्थितिमा टीभीइटी प्रोफाइलको विमोचन गरिएको हो ।

सार्वजनिक गरिएको प्रोफाइलले लुम्बिनी प्रदेशमा प्राविधिक तथा व्यावसायिक तालिमसँग सम्बन्धित संरचना, अवस्था, कार्यक्रम र आवश्यकताहरूको समग्र विवरण दिएको छ । यसले नीति तथा रणनीति निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा समितिहरू गठन गरी राष्ट्रिय तथ्याङ्क कार्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), माध्यमिक शिक्षा केन्द्र (सीइएचआरडी) लगायत निकायका तथ्याङ्क संकलन तथा विश्लेषण गरिएको थियो । प्रोफाईलले प्रादेशिक नीति तथा रणनीति निर्माणमा सहयोग पुग्ने, वार्षिक कार्ययोजना बनाउन तथ्यपरक आधार तयार हुने, लगानीकर्तालाई स्पष्ट जानकारी दिने, तालिम संस्था तथा कार्यक्रम व्यवस्थापन गर्न तथा दोहोरोपनाबाट जोगिन मद्दत गर्ने, सबै सरोकारवाला निकायहरूलाई सहज सूचना प्रदान गर्ने विश्वास गरिएको छ ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा समावेशी विकासमा टीभीइटी प्रोफाइल मार्गदर्शक हुने बताउनुभयो । उहाँले प्रदेशको समग्र सामाजिक र आर्थिक रूपान्तरणमा यसले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया