देउखुरी – दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा बुधबार साइकल दौड प्रतियोगिता आयोजना गर्यो । प्रतियोगितामा वडा नम्बर २ का वीर बहादुर कुमालले तृतीय स्थान हासिल गरे।

दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका कुमालले आफ्नै पुरानो साइकल लिएर प्रतियोगितामा भाग लिएका थिए । दौडको क्रममा उनको साइकलको ह्यान्डिल भाँचिए पनि उनले हार मानेनन् र अन्ततः तृतीय स्थान हासिल गर्न सफल भए ।
यदि उनको साइकल नयाँ भएको भए, उनले पहिलो स्थान समेत हासिल गर्न सक्ने सम्भावना थियो । नयाँ साइकल किन्न आर्थिक अवस्था कमजोर रहेको कुमालले तृतीय स्थानको पुरस्कार स्वरूप ३ हजार ५ सय नगद र प्रमाणपत्र प्राप्त गरे। तर, उनका लागि सबैभन्दा ठूलो खुसीको क्षण तब आयो जब राप्ती गाउँपालिकाका कर्मचारीहरूले उनको मेहनत र साहसको कदर गर्दै उनलाई नयाँ साइकल उपहार दिने निर्णय गरे ।
गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेले कुमालको संघर्ष देखेर कर्मचारीहरू मिलेर साइकल उपहार दिने निर्णय गरेको जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले औपचारिक कार्यक्रममै कुमाललाई साइकल हस्तान्तरण गरे, जसले उनको उत्साहलाई थप उचाइ दियो ।


तपाईको प्रतिक्रिया