झ्याप्ले खोलामै बिलायो अन्तर्राष्ट्रिय सम्मेलनमा बंगलादेश जाने दाजु-बहिनीको सपना

दशरथ घिमिरे

 

दाङ- बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजु-बहिनी हुन् । दुवैको पढाई राम्रो थियो । विद्यालयमा सधैं उत्कृष्ट अंकसहित उत्रिण हुन्थे उनीहरू । नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुँदै थिए ।

कार्यक्रममा सहभागी हुन शुक्रबार काठमाडौं जाँदै थिए । बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा टिकट काटेर चढे । तर, यो गाडी काठमाडौं पुगेन । धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिन पुग्यो । गाडी पुरिँदा जुम्ल्याहा दाजु-बहिनी दिपेश-दीपिका आमा सीता भट्टराईसँगै अस्ताए । उनीहरूलगायत गाडी चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाए ।

दिपेश-दिपिकाका बाबु होमनाथ भट्टराई भने कोरियामा बस्दै आएका छन् । श्रीमती र छोराछोरी घरबाट हिँड्ने बेला उनीसँग कुरा भएको थियो । तर, होमनाथ कामबाट फर्किँदा गाडी पुरिएको खबर पुग्यो । सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयका अनुसार कोरियामा रहेका होमनाथलाई जतिसक्दो छिटो बोलाइएको छ ।

होमनाथको घर स्याङजाको गल्याङ नगरपालिका- ३ हो । उनका १५ वर्षीय छोराछोरी दिपेश र दिपिका बुटवलको कालिका माविमा पढ्दै आएका थिए ।

आमा सीता उनीहरूसँगै बस्थिन् । विद्यालयका प्रचार्य दिनेश थापा कालिका मानवज्ञान मावि बुटवलबाट आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थीहरूमध्ये दिपेश र दीपिका रहेको बताउँछन् । उनले उनीहरूको प्रगतिको लागि सिफारिससहित बिदा दिइएको बताए ।

गुल्मीका ६ जनाको मृत्यु
झ्याप्लेखोलमा माईक्रोबस पहिरोले पुरिदा मृत्यु भएका १४ जना मध्ये ६ जना गुल्मीका परेका छन् । मदाने गाउँपालिकाका ६ पुर्कोटदहका ३ जना र गुल्मीदरबार गाउँपालिका- ७ लामडाँडाका एकै परिबारका ३ जना सहित ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी शंंकर पोखरेलका अनुसार पुर्कोटदका ३४ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती अनु कुँवर र बहिनी सिर्जना कुँवरको मृत्यु भएको छ । कोरियाको रोजगारबाट फर्किएका उनको एक महिना अघि मात्र विवाह भएको थियो ।

गुल्मीदरबार- ७ लामडाँडाका पनि एकै परिबारका तिन जनाको मृत्यु भएको वडाका वडाध्यक्ष शालिकराम टण्डनले जानकारी दिए ।

उनका अनुसार त्यस गाउँका ६३ वर्षीय जुद्धबहादर रायमाझी, उनकी बुहारी ३१ वर्षीय प्रमिता भुसाल रायमाझी र उनका ३ वर्षीय छोरा पिसव रायामाझीको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया