दशरथ घिमिरे
देउखुरी । साधारण नमूना माध्यमिक विद्यालय राजपुरमा अध्ययनरत गेहेन्द्र यादव मात्रै एसइईको परीक्षामा उत्तीर्ण हुनुभयो । उहाँसँगै ८५ जना विद्यार्थी सहभागी थिए । यादव सिंगो राजपुर गाउँपालिकाबाट एसइईमा उत्तीर्ण हुने एक्लो विद्यार्थी बन्न पुग्नुभयो । परीक्षामा नियमित सहभागी दुई सय २५ जना मध्ये दुई सय २४ जना विद्यार्थी अनुत्तीर्ण भएपछि आगामी वर्षको नतिजा सुधारको लागि राजपुरमा तनाव थपिएको छ । आउँदो एसइई परीक्षाको नतिजा सुधार गर्न अहिलेदेखिनै प्रयास थालिएको छ ।
विद्यार्थी पढाउन कक्षा कोठाको अभाव छैन । डेस्क, बेञ्च पर्याप्त छन् । विद्यार्थीलाई पढाउने विषयगत शिक्षकको त्यतिधेरै कमी पनि छैन । तर शैक्षिक गुणस्तर खस्कदै गएपछि साधारण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसाद यादवलाई आगामी वर्षको नतिजा कसरी सुधार गर्ने होला भन्ने चिन्ताले सताउने गरेको छ । त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गर्ने चरणमा विद्यालय छ । यसपालिको नतिजा थाहा पाउन विद्यार्थीले आफ्ना बुवा–आमालाई पनि सँगै विद्यालय ल्याउनुपर्नेछ । अनि बल्ल विद्यार्थीको नतिजाबारे जानकारी गराइने छ । ‘विद्यार्थीलाई विद्यालयमा भर्ना गरेर अभिभावकको जिम्मेवारी पूरा भयो भनेर ठान्नु गलत हुनेछ । आफ्नो नानी बाबुको पढाइ कस्तो छ भनेर अभिभावकले निगरानी नगर्दासम्म विद्यार्थीको नतिजा सुधार नहुने अवस्था देखियो’– प्रधानाध्यापक यादवले भन्नुभयो– ‘विद्यार्थीले नतिजा मात्रै होइन आफूले लेखेको उत्तरपुस्तिका पनि अभिभावकलाई देखाउन सक्नेछन् । कहाँ कमी कमजोरी भयो मूल्यांकन गर्न सकिने छ ।’
आफ्ना छोराछोरीको पढाइ प्रति अभिभावकको चासो शून्य जस्तै देखिएपछि विद्यालयले विद्यार्थीसँगै अभिभावक केन्द्रित अभियान चलाउने योजना बनाएको छ । गाउँपालिकाले पनि विद्यालय तहमा चरणबद्ध छलफल गरिरहेको छ । अभिभावक सचेत नहुँदासम्म विद्यार्थीको नतिजा सुधार गर्न नसकिने साझा बुझाइ बनेको छ । यही बुझाइलाई सबैले आत्मसात गरेको र सोही अनुसार पालिका तहबाट छलफल चलाइरहेको राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले बताउनुभयो ।
‘शिक्षामा हामीले लगानी धेरै गरेका छौं । माध्यमिक तहसम्म निःशुल्क छ । शुल्क लाग्दैन । तर पनि शैक्षिक गुणस्तर बढ्न किन सकेन ? हामी गम्भीर समीक्षा गरेर अघि बढ्न थालेका छौं’– अध्यक्ष बुढाथोकीले भन्नुभयो– ‘अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन, स्थानीय सरकार सबैको साझा प्रयास नहँुदासम्म शैक्षिक अवस्था सुधार गर्न सकिदैन भन्ने बुझाइ भएको छ । विद्यार्थीसँगै उनका अभिभावकसँग पनि छलफल चलाइरहेका छौं ।’
विद्यालय व्यवस्थापन समिति पनि नतिजा सुधारको लागि सक्रिय भएको छ । चौतर्फी प्रयासबाट शैक्षिक गुणस्तर बढाउन सकिने भनाइ साधारण नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीले बताउनुभयो । ‘विद्यालयको भौतिक सुधार करिब–करिब सम्पन्न गरेका छौं । हामीलाई पढाउन कक्षाकोठाको अभाव छैन । तर अव विद्यार्थीको नतिजा सुधारमा ध्यान केन्द्रित गरेका छौं’– उहाँले भन्नुभयो– ‘विद्यार्थीको वर्गीकरण गरेर अतिरिक्त कक्षा थप गर्नेदेखि लिएर उनीहरुलाई सक्रिय बनाउनेगरी पठनपाठन अघि बढाएका छौं ।’ एसइईको नतिजाले धक्का दिएपछि अहिले शून्य चरणबाटै प्रयास थालिएको छ । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल प्राप्त नहुँदा चिन्तित बनाएको बताउनुभयो । ‘जुन खालको नतिजा आयो हाम्रो चिन्ता बढाएको छ । आगामी वर्षहरुको नतिजा सुधार गर्ने गरी अभिभावक केन्द्रित छलफल थालेका छौं’– उहाँले भन्नुभयो– ‘२४ घण्टामा छ घण्टा मात्रै विद्यार्थी विद्यालयमा हुन्छ । बाँकी समय विद्यार्थीको घरमै बित्ने गरेकाले अभिभावकको चासो बढाउन थालेका हौं ।’
राजपुर गाउँ‘पालिकाका सात, बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाका दुई÷दुई तथा राप्ती गाउँपालिकाका एउटा विद्यालयले एसइईमा शून्य नतिजा ल्याएका थिए । जिल्लामा जम्मा १२ हजार दुई सय ३६ जना विद्यार्थीले नियमिततर्फ एसइई परीक्षा दिएका थिए । जसमध्ये पाँच हजार आठ सय ९९ जना अनुत्तीर्ण भएका थिए ।
तपाईको प्रतिक्रिया