राप्ती – ४ मा पशुलाई परजीवीबाट जोगाउन डिपिङ ट्याङ्की निर्माण

 

 

तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा भेडा, बाख्रालाई परजीवीबाट जोगाउन डिपिङ ट्याङ्की निर्माण गरिएको छ।

राप्ती गाउँपालिका वडा नम्बर ४ को आर्थिक वर्ष २०८०र८१ को करिब चार लाख रुपैयाँ लागतमा तीनवटा डिपिङ ट्याङ्की निर्माण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चौधरीले जानकारी दिनुभयो ।

किसानहरूको भेडा बाख्रा लगायत अन्य पशु चौपायाहरुलाई विभिन्न किसिमका आन्तरिक तथा बाह्य परजीवीबाट जोगाउन उक्त ट्याङ्की निकै उपयोगी हुने अध्यक्ष चौधरीको विश्वास छ।

‘डिपिङ ट्याङ्कीको अभावमा पशुपालक किसानहरुलाई आफ्ना पशुहरु परजीवी बाट बचाउन समस्या थियो’, वडा अध्यक्ष चौधरीले भन्नुभयो ‘ट्याङ्की निर्माण भए पछि किसानहरुलाई राहत मिलेको छ। यो कार्यक्रम किसानमुखी छ।’

त्यस्तै वडा सदस्य विष्णु पोख्रेलले यस कार्यक्रमले भेडा,बाख्रालाई बाह्य परजीवी (जुका, किर्ना, उपियाँ, लुतो) लाग्नबाट नियन्त्रण गरी निरोगी बनाउन मद्दत गर्नुका साथै किसानलाई अत्यधिक विषादी प्रयोग गर्नबाट जोगाएर थोरै समय र कम लागतमा धेरै पशुको उपचार गर्न सकिने बताउनुभयो ।

किसानहरुलाई पाएक पर्ने गरि वडाले नयाँगाउँ, मझनीगढ र गोपीनाला गरि ३ ठाउँमा ट्याङ्की निमार्ण गरेको छ।

निश्चित मापदण्ड अपनाएर सिमेन्टबाट बनाइएको उक्त ट्याङ्कीमा कीटनाशक झोल र पानी राखेर मिश्रण गरि बाख्रा, भेडा, कुकुर लगायतका पशुहरुको आँखा, नाक, मुख सुरक्षित हुने गरी शरीर डुबाएर उपचार गरिने हुँदा किसानहरू यस तर्फ आकर्षित भएको पशु प्राविधिक कमल पुन मगरले बताउनुभयो।

बिहिवार मात्रै नयाँगाउँमा रहेको सो ट्याङ्की बाट ४ सय बढी बाख्रालाई निःशुल्क उपचार गरिएको छ भने शुक्रबार मझनीगढ र शनिबार गोपीनाला बाट सो सेवा प्रदान गरिने वडा कार्यालयले बताएको छ।

आफूहरुले पालेका पशुहरुलाई परजीवी बाट बचाउन गाउँमै निस्शुल्क सेवा पाएपछि किसानहरू खुशी भएका छन् ।

 

तपाईको प्रतिक्रिया