कोरोना, आइसोलेसन र ३ वर्ष अघिको त्यो तिहार

बासुदेव न्याैपाने

 

तिहारकाे चहलपहल विस्तारै बढ्दै थियो । तिहारको माहोलसँगै श्रीमती र दिदीको आगमन भइसकेको थियो । तर मेरो मन भने स्थिर थिएन । खाना खाएर सबैजना माथि सुत्न जानुभयो । म र श्रीमती बाहेक । उनी पनि जाने तयारी गर्दै थिइन् । ८ बजेर ३० मिनेट भएको थियो । यत्तिकैमा मोबाइलमा रिङटोन बज्यो ।

‘एकैछिन पर्खहै” मैले भने ।

उनी रोकिइन् । म्यासेज हेरें । हरेक कुरा पोजेटिभ खोज्ने म, तर पहिलो पटक नेगेटिभको प्रतिक्षामा थिए । मेरो सपना पुरा हुन सकेन । एकछिन स्तब्ध भए । अपेक्षित म्यासेजमा लेखिएको थियो ‘पीसीआर पोजेटिभ” ।

श्रीमतीलाई ईसारा गर्दै पोजेटिभ रिपोर्टआएको म्यासेज देखाएँ । मलिन मुद्रामा सान्त्वना दिँदै भनिन् ‘आत्मबल बलियो बनाउनुस् केही हुँदैन ।”

केही हदसम्म उर्जा प्रदान गरायो । बुवाआमालाई भोलिपल्ट मात्र थाहा दिने भन्दै श्रीमती पनि माथि गइन् । म एक्लै तल नै आइसोलेट भएर बसें ।

केही हदसम्म मानसिक रूपमा तयार हुँदै थिएँ, उक्त नतिजाको लागि तर उक्त नतिजाले अन्धकार र सुनसान रातमा एक्लै बस्न बाध्य बनायो । आत्मबल दह्रो राख्नु पर्ने हेक्का भएपनि रातको समयमा तनाव बनायो । मनमा अनेकौ कुरा खेल्न थाल्यो । घरमा रक्तचापको रोगी आमा । उहाँमा पनि संक्रमण देखिए के होला भन्ने थप चिन्ता बढ्यो । रातको १२ बजिसकेको थियो निद्रा नै परेन । खै कतिबेला निदाएछु । बिहान निद्रा खुलेपनि तनाव यथावत नै थियो ।

भोलिपल्ट बिहान मात्र बुवा, आमा र दिदीलाई थाहादिएँ । उहाँहरुले कोरोना संक्रमणलाई सामान्य रूपमै लिनु पर्ने बताउनुभयो । जसले ममा थप आत्म विश्वास बढायो ।

कोरोना संकमण पुष्टि हुनुभन्दा दुई दिन अघिदेखि नै होम आइसोलेसनमा थिएँ । घरको तल्लो तलामा एउटा कोठाको ढोका बाहिर थियो र चर्पि पनि । जुनहामी सबैका लागि सुरक्षित थियो । लक्षण देखिना साथ म उक्त कोठामा बस्न सुरु गरिसकेको थिएँ ।

गन्ध र स्वाद हरायो
टाउकोमा तोरीको तेल लगाउँदै हात सुँघे तर कुनै गन्धको भान भएन । माथी कोठा गई पर्फ्यूम सँुघे गन्धको कुनै पत्तो भएन । मनमा चिसो पस्यो । स्वास्थ्य पत्रकार भएको हुँदा पनि थाहा थियो कि गन्ध हराउनु पनि कोरोनाको एउटा लक्षण हो भन्ने । घरमा केही भनिनँ । भान्सामा बुवा आमासँगै खाना खान बसें । खाना रुचेन । खानामा कुनै स्वाद नै थिए । सबै खाना फालिदिएँ । आमाले गाली गर्दै हुनुहुन्थ्यो, नसुनेको जस्तो गरी निस्किए ।

केहीदिन अघि रुघाखोकी लागेको थियो तर त्यसलाई सामान्य रुपमा नै पचाएको थिए । पछि बेलुकामा थकान हुदै गएको थियो । त्यसमाथि गन्ध र स्वादले आफ्नो स्थान छाड्यो । म ढुक्क भएँ, सम्भवतस् म पनि कोरोना संक्रमित भएँ भन्ने ।

बेलुका घर फर्कनासाथ बुवाआमालाई सबै कुरा बताए र होम क्वारेन्टाइनमा बस्ने निर्णय गरे ।उचित समयमा सहि निर्णय गर्दा परिवार र समाजमा हुन सक्ने ठूलो दुर्घनाबाट बचाउन सफल भए । यो नै मलाई खुसीको कुरा भइदियो ।

कोरोना संकमण हुनासाथ समाजले हेर्ने दृष्टिकोण नै परिर्वतन हुने हुदा परिवारभन्दा बाहिर कसैलाई पनि जानकारी दिइएन । तिहार भएको हुँदा सबैजना व्यस्तताको कारण पनि होला छिमेकीको पनि आवतजावत भएको थिएन । संक्रमित भएपछि छिमेकीलाई जानकारी गराउनु आफ्नो दायित्व हो भन्ने लागेको थियो तर सोचें सबै तिहारको रमाइलोमा छन् । उक्त कुराले उनिहरुको रमाइलो भङ्ग गर्न चाहिन । किनकि संक्रमण हुनु भन्दा एकहप्ता अघिदेखि म उनिहरुको सम्र्पकमा गएको थिइँन र परिवार पनि ।

आइसोलेसनमा परिवारको स्याहार
संयोग भन्नु पर्छ, कोरोना संकमण पुष्टि हुनु र श्रीमतीको बिदा संगै पर्यो । आइसोलेसन बस्दा बुवाआमा र श्रीमतीसंगै दिदिको सान्त्वना, सुझाव, उहाँहरुले म प्रति गर्ने केयर, घण्टा घण्टामा तातो पानी, सुप र पोषणयुक्त सन्तुलित आहार नै मेरो लागि ठूलो औषधि थियो । तर पनि रातको समयमा डर भने यथावत नै हुन्थ्यो । रातको समयमा समस्या आए के गर्ने भन्ने । हरेक दिन समाचार आइरहेका थिए होम आइसोलेसनमा बसेका व्यक्तिको मृत्यु, आईसीयू र भेन्टिलेटरको अभाव जस्ता यथार्थले डर थपियो । एक मनले सोच्ने गर्थे मलाई कुनै समस्या नै छैन भने के को डर । आफै प्रश्न, आफै सान्त्वना दिन्थें ।

१४ औं दिनपनि पोजेटिभ
मनमा छुट्टै उमङ्ग छाएको थियो । १४औं दिनसम्मको आइसोलेसन पुरा गरेको थिए । त्यसैदिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब दिएको थिएँ । स्वास्थ्यमा कुनै समस्या नभएको हँुदा नेगेटिभ आउँछ भन्नेमा विश्वस्त थिएँ । तर रिर्पोट पत्ता लगाउन मलाई हम्मे हम्मे पर्यो । प्रतिष्ठानले न त म्यासेज नै गथ्र्यो न फोन नै समयमा उठ्ने । अर्कोदिन २ बजेपछि मात्र एकजना भाइको सहयोगमा रिर्पोट पाउन सफल भएँ । जब रिर्पोट हात पर्यो छाङ्गाबाट खसेको भान भयो । जती पीडा मलाई कोरोना पोजेटिभ हुदा समेत भएको थिएन । १४औं दिनपनि मेरो कोरोना पोजेटिभ नै देखायो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिकाअनुसार १४ औं दिनको आइसोलेसन पुरा गरेपछि कोरोना संक्रमण मुक्त भइन्छ । सम्भवतः त्यसै दिन मन्त्रालयको अद्यावधिक विवरण अनुसार मेरो नाम कोरोना संक्रमण मुक्त संख्यामा थियो होला । किनभने मन्त्रालयको निर्देशिकाअनुसार त्यसैदिन म कोरोना संक्रमण मुक्त भएको थिएँ ।

१० दिनपछि कोरोना सर्ने सम्भावना कम हुने भएतापनि मेरो मनले मानेन पुनःआइसेलेसनमा नै बस्ने निर्णय गरेको थिएँ । र २१ दिनसम्म पनि आइसोलेसन मै बसे । शान्तसँग एकै स्थानमा बस्न नसक्ने म २१ दिनसम्म आइसेलेसन कसरी अडिएँ सम्झँदा रोचक लाग्छ ।

छोरा र मेरो लुकामारी

दशैको दिन मामा घर गएको छोरा मलाई संक्रमण पुष्टि भएको १५ औं घरमा आउँदै थिए । खुशीको सीमा थिएन । तर के थाहा १४औं दिनपछि पनि रिर्पोट पोजेटिभ आउँछ भन्ने । घरमा छोरा आउनु भन्दा पहिला नै रिर्पोट आइपुग्यो । अढाई वर्षको छोरो घर आउनासाथ तोते बोलीमा ड्याडी खै भन्दै खोज्न थाल्यो । धेरै पटक तल र माथि गर्यो । कैयौंपटक घर घुम्यो तर मलाई फेला पार्न सकेन । बिचरा बच्चा न हो उस्लाई के थाहा उसको बुबाले घरभित्रैबाट उसलाई चिहाइरहेको छ । उसले बोलेका हरेका शब्द मेरा कान गुन्जिरहे । झ्यालबाट लुकिलुकि उसलाई चिहार्दै आँखाबाट आँसु झार्न बाहेक केही गर्न सकिँन ।

संक्रमण बढ्नुमा लापरवाही
समाजमा कोरोना संक्रमणलाई आफ्नै हिसाबले व्याख्या गरिरहेको थिए । उनीहरू परीक्षण नगरी कोरोनालाई पचाएको दाबी गर्छन् । कोरानासँग मिल्ने लक्षण भएका व्यक्तिहरु पनि आइसोलेसनमा नबसी खुलेयाम घुम्दापनि संक्रमण दर बढी रहेको थियो । पीसीआर टेस्ट गराउदा खर्च हुने र आइसोलेसन बस्न झन्झट हुनुको साथै समाजले हेर्ने दृष्टिकोण नै फरक पर्ने हुदासमेत कोरोना जाँचनगरेको पाइयो । नेपालमा लकडाउन सुरु भएदेखि दुई दिन मात्रमाक्स लगाउने व्यक्ति पनि हाम्रै समाजमा थिए, त्यो पनि छिमेकिको कोरोना संक्रमणबाट ज्यान गएपछि । तेस्रो दिनदेखि उनले मास्कको प्रयोग गर्न छाडे भन्छन् कोरोनाले केही हुँदैन। पढे लेखेका र बुद्धिजिवी व्यक्ति नै समायमा यसरी हिँड्नु नै संक्रमण दर बढ्नु थियो।

अन्तमा बुबा, आमा, श्रीमती र दिदीप्रति नमन । कोरोना संक्रमणबाट ज्यानगुमाउने स्वास्थ्यकर्मी, चिकित्सक लगायत सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली । आफ्नो सुरक्षा आफैं गर्नु बाहेक विकल्प अरु केहि थिएन । त्यसैले माक्सको प्रयोग, नियमित साबुनपानीले हात धुने र भौतिक दूरी कायम गर्ने बाहेक बिकल्प थिएन ।

तपाईको प्रतिक्रिया