प्युठानका डाक्टरः जसले त्रिवि शिक्षण अस्पताल छाडेर दुर्गम गाउँ रोजे

 

 

बासुदेव न्यौपाने
प्युठान । मल्लरानी –२, चुजाकी ७७ वर्षिया लालिदेवी घर्ती निःशुल्क स्वास्थ्य उपचार गर्न पाउदा खुसी थिइन् । ज्वरो आउने, खान मन नलाग्ने, उल्टी हुने जस्ता समस्या देखिएपछि घर्ती स्वास्थ्य उपचार गर्न बिजुवार आएकी थिएन् ।

म सँग कुरा गर्दै घर्तीको स्वास्थ्य समस्याका विषयमा जानकारी लिदै थिए चिकित्सक ।
करिब १० वर्षअघि पहिलो पटक उनीसँग मेरो भेट प्युठानको बिजुवारमा भएको थियो । त्यसबेला पनि उनीसँग दुःखसुख र दैनिकीका कुराकानी भएका थिए । यसपटक पनि एक घण्टा यस्तै कुराकानी गरी म निस्किए ।

उनीसँगको भेटपछि मेरो मनमा धेरै कुरा खेल्न थाल्यो । नेपालमा उनी जस्तै ७७ जना चिकित्सक भइदिए ग्रामीण भेगका बासिन्दा उपचार सेवाबाट बन्चित हुनु पर्ने थिएन । उपचार अभावकै कारण बालबालिका, वृद्धवृद्धाले अकालमा ज्यान गुमाउनु पर्ने थिएन आदि इत्यादी ।

बिरामी खोज्दै गाउँगाउँ पुग्ने डाक्टर
डाक्टर कहाँ भेटिन्छन् ? सायद हामी सबैको उत्तर उस्तैउस्तै हुन्छ । महङ्गा क्लिनिक, अस्पताल, नर्सिङ्ग होममा । तर, यही हाम्रै समाजमा एक जना यस्ता डाक्टर पनि छन् जो बिरामी खोज्दै गाउँगाउँ पुग्छन् । उनी २० वर्षदेखि यसरी नै बिरामी खोज्दै गाउँगाउँ पुगिरहेका छन् । उनी हुन् प्यूठान बिजुवारका ६८ वर्षीेय डा. लेखराज सुवेदी

आमा छोरो खोज्ने, छोरो बिरामी खोज्ने
प्युठान बिजुवार टारीमा माटोको एउटा पुरानो घरमा ९९ वर्षीेया उनै डाक्टरलाई हरेक दिनजसो खाना कुरेर बसेकी हुन्छिन् । तर, डाक्टरको भने कतिबेला आउने कुनै पत्तो हँुदैन । उनी बिरामी खोज्दै दुर्गम गाउँ र पाखामा पुगेकाले खाना खाने कुनै टुंङ्गो छैन । यसरी रात बिहान खाना कुर्ने तिनै डा. सुवेदीकी आमा अपा सुवेदी हुन् । डा. सुवेदी अपाका माईला छोरा हुन् ।

उनी कुनै नाम चलेको अस्पतालका डाक्टर होइनन् । न त उनीसँग उपचार गराउन महिनौ अगाडि नै नाम लेखाउनु पर्छ । न त उपचार गरेबापत यति नै रकम चाहिन्छ भनेर बिरामीसँग मोलमोलाई नै गर्छन । उनी त गाउँगाउँमा बिरामी खोज्दै हिड्छन् र निःशुल्क उपचार गरिदिन्छन् ।

डा. सुवेदी त्रिवि शिक्षण अस्पतालको सरकारी जागीर छाडेर गाउँ पसेका हुन् । गाउँ पसेपछि उनी आफ्नो इच्छाले कहिल्यै पनि काठमाडौं फर्केनन् । ‘१० वर्षअघि तपाईं कै अनुरोधमा काठमाडौं गएको थिए । त्यसपछि फेरि गएको छैन ।’ डा. सुवेदीले भने ‘गाउँ छिरेपछि काठमाडौं जाने समय नै भएन ।’

टारी स्थित डा. सुवेदी घर

प्युठानको साबिक बिजुवार गाविस टारीमा सन् १९५५ मा निम्न वर्गीय परिवारमा जन्मिएका डा. लेखराज सुवेदीले स्थानीय संस्कृत पाठशालाबाट पढाइ आरम्भ गरी मुक्ति माध्यमिक विद्यालय रातामाटाबाट प्रवेशिका परीक्षा पास गरेका थिए । एसएलसी उतिर्ण गरेपछि विज्ञान बिषय पढ्ने धुनमा उनी काठमाडौं पसे । उनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट हेल्थ असिस्टेन्ट अध्ययन गरे । त्यसपछि पाल्पाको तानसेनस्थित सिएमए क्याम्पसमा करिब चार वर्ष प्रशिक्षकका रुपमा अध्यापन गराए । सोही बेला मिसन अस्पतालमा पनि काम गर्ने अवसर पाए । पाल्पामा बस्दा उनले डा. हाडिङ्ग, डा. जोन र डा. गोविन्द भट्टसँग धेरै कुरा सिक्ने मौका पाए । पाल्पामा काम गर्ने सिलसिलामा छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि पुनः चिकित्साशास्त्र अध्ययन संस्था महाराजगन्ज आए । एमबीबीएस अध्ययन सकेपछि शिक्षण अस्पतालमा करिब आठ वर्ष सहप्राध्यापन र चिकित्सकका रुपमा काम गरे ।

शिक्षण अस्पतालको जागीर छाडेर गाउँमा
शिक्षण अस्पतालको हाडजोर्नी विभाग, मेडिकल, फिजीयोलोजी विभाग आदिमा रहेर उनले आठ वर्ष काम गरे । ठूलो अस्पतालमा रहेर काम गर्दा अचानक उनलाई जन्मस्थलको सेवा गर्ने भावना जाग्यो । काठमाडौंको सुविधासम्पन्न अस्पतालबाट बाहिएर उनी सिधै प्युठानका ग्रामीण भेगतर्फ लागे ।

पाल्पामा काम गर्दा त्यहाँका बिरामीले भोग्नु परेको पीडा र समस्याबारे उनी जानकार भइसकेका थिए । त्यहाँका हरेक दृश्यले उनलाई आफ्नै गाउँको याद दिलाउने गरेको डा. सुवेदीले बताए । डा. सुवेदी भन्छन् ‘बिरामी गाउँमा छन् म शहरमा बसेर के गर्ने ? त्यसैले बिरामीको सेवाका लागि म आफै गाउँ आए ।’

चिकित्सकको रुपमा दुर्गममा बसेर काम गर्नु त्यो पनि यतिका वर्षसम्म । यो वास्तवमै कठिन र चुनौतीपूर्ण काम हो । उनीसँगै अध्ययन गरेका साथीहरू धेरैजसो विदेशमा छन् । तर डा. सुवेदी सुबिधासम्पन्न अस्पताल छाडेर झोलामा औषधि बोकेर ग्रामीण भेगमा भौतारिरहेका छन् । उनलाई कहिल्यै पनि आर्थिक लोभले छोएन । त्यसैले पनि उनी गाउँमा टिकिरहेका छन् । डा. सुबेदी भन्छन् ‘काठमाडौंमा रहेर विलासिताको जीवन बिताएको भए सायद अहिले जस्तो सन्तुष्टि पाउने थिएन होला ।’ भौतिक विलासिता भन्दा ग्रामीण भेगका बासिन्दाको सेवा गर्दा सन्तुष्टि मिलेको उनी बताउँछन् ।

बाल्यकालको रहर पुरा गर्दै
सेवा भनेको मानवहितका निमित्त हो । ‘सेवामा स्वार्थ हुनुहँुदैन, सद्भावका साथ गरिने सतकर्म नै सेवा हो । सेवामा प्रेम, आनन्द र आत्मसन्तुष्टि हुन्छ,’ डा. सुवेदी भन्छन् ‘त्यो प्युठानमा पाएको छु, सायद काठमाडौं बसेको भए यी सबै कुरा मिल्ने थिएन । बाल्यकाल देखिकै सोच हो की म गाउँमा बसेर सेवा गरु । म आज ढिलो नगरीकन गाउँ मै बसेर सेवा दिइ रहेको छु । यसमा मेरो इच्छा पुरा भएको छ । म खुसी छु ।’

बिरामीलाई डाक्टर खोज्दै हिड्न गाह्रो नहोस भनेर डा. सुवेदीले प्यूठानको टाडीमा एउटा सानो कोेठा भाडामा लिएका छन् । उनले यो कोठालाई क्लिनिक भने पनि पैसा दिन ज्ञञनसक्नेले निःशुल्क उपचार पनि पाउँछन् । अन्यलाई पनि निकै कम शुल्कमा सेवा दिदै आएका छन् । विशेषगरी अपाङ्ग, असाहाय, गरीब, निमुखा, अति विपन्न बिरामीले शुल्क दिन खोजे पनि उनी लिदैनन् । उनी भन्छन् ‘आन्तरिक व्यवस्थापनका लागि मात्र पैसा लिने गरेको छु, कमाउनका लागि होइन् ।’ उनले जिल्लाका विभिन्न भेगमा ५० भन्दा बढी निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिसकेका छन् ।

छिमेकी जिल्लाबाट समेत बिरामीको भीड
डा. सुवेदीको उपचार कौशल र सेवाभावका कारण उनलाई भेट्न प्युठानबाट मात्रै नभएर छिमेकी जिल्लाहरू बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची र रोल्पाबाट समेत बिरामी आउन छन् ।

उनको एक्लो प्रयास बाहेक जिल्लामा रहेका सामाजिक संस्था, गैरसरकारी संघसंस्थासँग मिलेर पनि दुर्गम गाउँमा उनले सेवा पु¥याइरहेका छन् । सुरुका दिनमा काठमाडौं छाडेर प्युठानका गरीब वस्तीमा काम गर्न जाँदा डा. सुवेदीलाई गल्ती ग¥यो भन्नेहरू अहिले डा. सुवेदीले ठीक गरे भन्न थालेको उनले सुनाए ।

हुनत उनले गरेको समाज सेवाको प्रशंसा गर्नेको कमी छैन । उनी धेरै संघ संस्थाबाट सम्मानित हुँदै पनि आएका छन् । ०७१ सालमा राष्ट्रपतिबाट प्रदान गरिने ‘समाज सेवा रत्न पुरस्कार’ बाट समेत सम्मानित भइसकेका छन् ।

छोराको समाज सेवाबाट ९० वर्षीेया आमा खुसी नहुने कुरै भएन । ‘छोराको कामबाट निकै खुसी छु, गाउँमा जान्छ बिरामीको सेवा गर्छ । तर, कहिले काही खानै नखाएर काम गरेको देख्दा दिक्क लाग्छ ।’ उनले थपिन् ‘छोरा आउला र सँगै खाउला भनेर पर्खदा आफै पनि भोकै बस्नु पर्छ ।’ तर, पनि यसमा उनलाई कुनै पछुतो छैन, किनकी उनलाई राम्रोसँग थाहा छ छोरो गाउँमा बरालिएर हिडेको छैन् । उ त गरीब तथा निमुखा बिरामीको सेवामा तल्लिन छ ।

‘किन विवाह गरिन थाहै छैन’
डा. सुबेदी अविवाहित हुन् । अहिलेसम्म उनले बिवाह गरेका छैनन् । उनी भन्छन् ‘के कारणले अविवाहित बसे मसँगै उत्तर छैन । अझै पनि परिवार र साथीभाईहरूबाट दबाब आइनै रहन्छ ।

 

तपाईको प्रतिक्रिया