विवाहको दबाबपछि गर्लफ्रेन्डको हत्या, शवको ३५ टुक्रा पारेर जंगलमा

दिल्ली पुलिसले सोमबार हृदय विदारक हत्याकाण्डको खुलासा गरेको छ । करिब ६ महिनाअघि मे २२ तारिखमा लिभ इन पार्टनर अफताबले २६ वर्षीया प्रेमिका श्रद्धाको निर्ममतापूर्वक हत्या गरेका थिए ।

 

उनले श्रद्धाको शव आराले टुक्राटुक्रा परेका थिए । ती टुक्राहरू राख्न भनेर उनले नयाँ फ्रिज ल्याएका थिए भने गन्धलाई कम गर्न धूप बाल्ने गर्थे । १८ दिनसम्म हरेक रात २ बजे उठेर उनले शवका टुक्रा जंगलमा फालेका थिए । प्रहरीले शनिबार अफताबलाई पक्राउ गरेपछि उनले श्रद्धाको हत्याको सनसनीपूर्ण कथा सुनाएका थिए । अदालतले अफताबलाई ५ दिनको प्रहरी हिरासतमा पठाएको छ ।

प्रहरीका अनुसार अफताब एक फुड ब्लगर थिए । दुई जनाको भेट मुम्बईको एक कल सेन्टरमा काम गर्दा भएको थियो । त्यहाँ काम गर्दा उनीहरु प्रेममा परे तर परिवारले सम्बन्ध स्वीकार नगरेपछि उनीहरु दिल्लीमा सरेर लिभइनमा बस्न थालेका थिए । श्रद्धाले विवाहका लागि अफताबलाई दबाब दिन थालेपछि उनले हत्या गरेको प्रहरीको भनाई छ ।

घटना हुनुअघि अफताबले अमेरिकी क्राइम शो डेक्सटर लगायतका धेरै क्राइम फिल्म र शो हेरेको प्रहरीलाई उद्धृत गर्दै स्रोतले बताएको छ । त्यसपछि मात्र उनले श्रद्धाको हत्या गरी उनको शरीरलाई ३५ टुक्रा पारिदिएका थिए । शरीरका अङ्ग सुरक्षित राख्न बजारबाट ठुलो फ्रिज पनि किने । उनी हरेक दिन फ्रिजबाट केही टुक्रा निकालेर जङ्गलमा फाल्न जान्थे । यो प्रक्रिया १८ दिनसम्म चल्यो ।

डेक्सटर एक अमेरिकी अपराध नाटक र मनोवैज्ञानिक थ्रिलर शो हो जुन २००६ देखि २०१३ सम्म प्रसारित भएको थियो। यसमा ८ सिजनहरू छन्। शोको मुख्य पात्र डेक्सटर मोर्गनले दिनमा प्रहरीका लागि फरेन्सिक प्राविधिकको रूपमा काम गर्थे भने राति उनी बर्बर अपराध गर्ने अपराधीहरूलाई हत्या गर्न सिरियल किलरको रूपमा काम गर्थे ।दैनिक भास्कर

तपाईको प्रतिक्रिया