दशरथ घिमिरे

दाङ – लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशन सोमबारदेखि सुरु भएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको विषयले आजको बैठकमा प्रवेश पाएको छ। वर्षे अधिवेशन अन्त्य भएर दुई महिनापछि बसेको हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे सुरु भएको थियो।
बैठकमा दलगत आधारमा प्रदेशसभा सदस्यहरूले जेनजी आन्दोलनबारे धारणा राखेका छन्। एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आन्दोलनको उद्देश्य देखिन नसकेको टिप्पणी गरे। उनले आन्दोलनको अन्तर्य केवल केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने प्रयत्नजस्तै देखिएको बताए।ञयदि त्यो होइन भने नेपाली जनताले के पाए। मानवीयता हराएको यस्तो आन्दोलनमा केही प्रदेशसभा सदस्य सक्रिय देखिँदा अचम्म लाग्यो, उनले भनेका छन।
नेपाली कांग्रेसकी प्रमुख सचेत जमुना ढकालले संयमता र जिम्मेवार कार्यशैलीको अभावका कारण घटना बिग्रिएको बताइन्। उनले अझै पनि सडकमा त्रासको वातावरण रहेको भन्दै शान्तिपूर्ण वातावरण बनाउन सबैलाई आग्रह गरिन्।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेत इन्द्रजित थारुले परिस्थितिको गम्भीर आत्मसमीक्षा आवश्यक भएको बताए। उत्पन्न अवस्थाको कारण पहिचान गरेर सबै दलले राष्ट्रियताका सवालमा जिम्मेवारी लिनुपर्ने धारणा उनले राखे।

बैठकमा प्रदेश सभा सदस्य अम्बिका काफ्ले, भण्डारीलाल अहिर, हेमा बेल्वासे, चन्द्रकेश गुप्ता, जानकीप्रसाद यादवलगायत सांसदहरूले धारणा राखेका थिए।
सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र पढेर सुनाए। ती पत्रमा सातौं अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौं अधिवेशनबाट प्रमाणीकरण भइसकेका विधेयकसम्बन्धी जानकारी समावेश थिए। यस्तै बैठकले प्रदेश सभा सदस्य सरिता पुनको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
यसै अधिवेशनका लागि प्रदेशसभा सचिवालयमा दर्ता भइसकेका दुई विधेयकमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन ऐन २०७५ संशोधन विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन २०७६ संशोधन विधेयक छन्।
यसबाहेक प्रदेश मन्त्रिपरिषद्ले थप तीन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिएको छ। तीमध्ये लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक रहेका छन्। लुम्बिनीमा भदौ ३१ गते छैटौं अर्थात् वर्षे अधिवेशन सकिएको थियो।

तपाईको प्रतिक्रिया